राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालको सेवा सुधार गरिनुपर्ने माग गर्दै १५ दिनदेखि अनसनरत नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी)का अध्यक्ष विकास तिवारीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको छ ।

अस्पतालको अवस्था सुधारका लागि भन्दै तिवारी गत मङ्सिर ८ गतेदेखि अस्पताल परिसरमै आमरण अनशनमा छन् । तिवारीले अस्पतालको बेथिति छानबिन गर्न स्वास्थ्यमन्त्रीको उपस्थितिमा नागरिक समाजका अगुवाहरूको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति गठनको घोषणा नभएसम्म अनसनलाई निरन्तरता दिने अडान दोहोर्याएका छन् ।
अनसनप्रति समर्थन जनाउँदै राजविराज कलेजका विद्यार्थीले प्रदर्शनमा गरेका छन् । अनसनको १५ औँ दिनसम्म पनि सरकारले कुनै चासो नलिएको विरोधमा दवाव दिन जुलुस निकालेको उनीहरूले बताए ।
यसैबीच राष्ट्रिय मानअधिकार आयोगले मङ्सिर २२ गते एक विज्ञप्ति प्रकाशन गरी अनसनरत तिवारीको जीवन रक्षा गर्न सार्थक वार्ता गर्न माग गरेको छ । विज्ञप्तिमा स्वास्थ्य क्षेत्रको समग्र सुधार तथा सप्तरी जिल्लाको राजविराज स्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालको व्यवस्थापन तथा सुधार, लगायतका २६ सूत्रीय माग राखी विगत १५ दिन देखि अनसनरत विकास तिवारीको स्वास्थ्य अवस्थाप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।
२०२८ सालमा स्थापित अस्पतालको हाताभित्र ५० शैया भवन रहे पनि दरबन्दी अनुसारका चिकित्सक, नर्स, कर्मचारी र आवश्यक उपकरण सामग्री नहुँदा प्राथमिक उपचार बाहेकका अन्य विरामीलाई बिराटनगर, धरान रेफर गर्ने गरिएको स्थानीयवासीको गुनासो छ ।
सरसफाइ कर्मचारीहरू आन्दोलनमा उत्रिएपछि बिरामीहरू मर्कामा
गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा ०७३ मङ्सिर २० गतेदेखि आन्दोलनमा उत्रिएका ज्यालादारी सरसफाइ कर्मचारीहरूले धर्नालाई निरन्तरता दिएका छन् ।

आफूहरूको मागप्रति अस्पताल प्रशासनले चासो नदेखाएपछि पेशागत सुनिश्चिततासहित पाँच सूत्रीय माग राख्दै आन्दोलनमा उत्रिएको कर्मचारीहरूले बताए । उनीहरूले अस्पतालमा रहेका ज्यालादारी कर्मचारीहरूलाई स्थायी गर्नुपर्ने, नेपाल सरकारको मापदण्डअनुसारको तलब एवम् अन्य सुविधा कायम हुनुपर्ने, सरसफाइ कर्मचारीको पोशाकको व्यवस्था, आवासको सुविधा, स्वास्थ्य कर्मचारी सरह ज्यालादारी कर्मचारीको निःशुल्क औषधी उपचारलगायतको सुविधाको माग राखेका छन् ।
सरसफाई कर्मचारीहरू काम छाडेर धर्नामा बसेपछि अस्पताल फोहोरले दुर्गन्धित हुँदा विरामीहरू मर्कामा परेका छन् ।