इशनाथ नपा–१ स्थित बकैया नदीको बाँध नजिक माघ १४ गते राती प्रहरी र आपराधिक समूह बिच भएको दोहोरो गोली हानाहानमा प्रहरीको गोली लागेर २० वर्षीय भारतीय नागरिक चाँद अली घाइते भएका छन् ।
आपराधिक गतिविधिमा संलग्न समूह भारत हुँदै नेपाल प्रवेश गर्न लागेको सूचना पाएपछि प्रहरी टोली नेपाल—भारत सीमानामा पुगेको थियो । प्रहरीका अनुसार मोटरसाइकलमा आएका तीन जनालाई प्रहरीले रोक्न खोजेपछि गस्ती टोलीमाथि फायरिङ गरेपछि आत्मरक्षाका लागि गोली चलाउँदा अपराधिक समूहका चाँद घाइते भएको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी रविराज खड्काले बताउनु भएको छ । घाइते चाँदको दाहिने घुँडामुनि गोली लागेको छ ।
चाँदले भारतीय नागरिक मोमताज र नेपाली नागरिक ओमप्रकाश साहसहित तीन जना व्यापारीसँग फिरौती लिने प्रयोजनका लागि नेपाल प्रवेश गरेको बयान दिएको प्रहरीले जनाएको छ ।
चाँद तराई मधेश नेसनल समूहमा अबद्ध रही अपराधिक गतिविधिमा सङ्लग्न रहेको खुलेको प्रहरीले जनाएको छ । सोही समूहका अन्य दुई जना भने भारततर्फ भागेका प्रहरीले बताएको छ । घटनास्थलबाट आपराधिक समूहले छाडेको एक थान कटुवा पेस्तोल, सोमा लाग्ने गोलीको खाली खोका एक थान र कटुवामा लोड भएको एक थान गोली प्रहरीले बरामद गरेको छ ।
घाइते चाँदविरुद्ध जिल्ला प्रहरी कार्यालय रौतहटमा सङ्गठित अपराध र आपराधिक लाभ लिन विस्फोटक पदार्थसमेतको प्रयोग सम्बन्धी तीन र सङ्गठित अपराध र आपराधिक लाभ एक गरी छुट्टाछुट्टै चार मुद्धा दर्ता भएको छ । मुद्धा दर्तापछि अदालतले गिरफ्तार पुर्जी जारी गरेपनि चाँद फरार रहँदै आएको प्रहरीले बताएको छ । घाइते चाँदको हाल गौरस्थित अस्पतालमा उपचार भइरहेको छ ।