INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रतिनिधि सभाको सभामुखमा अग्नी सापकोटा निर्वाचित

प्रतिनिधिसभाको सभामुखमा अग्निप्रसाद सापकोटा निर्वाचित हुनुभएको छ । प्रतिनिधि सभाको माघ १२ गते बसेको बैठकले सापकोटालाई निर्विरोध निर्वाचित गरेको हो ।

प्रतिनिधी सभाका ज्येष्ठ सदस्य महन्थ ठाकुरले सापकोटाकाविरूद्धमा कुनैपनि उम्मेद्वारी नपरेको भन्दै उहाँ सभामुखमा निर्विरोध निर्वाचित हुनुभएको घोषणा गर्नुभयो ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार सापकोटालाई सभामुखमा नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले प्रस्ताव गर्नुभएको थियो ।

नेम्वाङको प्रस्तावलाई नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङ, पूर्व सभामुख ओनसरी घर्ती र राष्ट्रिय जनता पार्टी (राजपा) का सांसद लक्ष्मण लाल कर्णले समर्थन गर्नुभएको थियो ।

माघ १३ गते पद तथा गोपनियताको सपथग्रहण कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ । सापकोटाविरूद्ध २०६२ सालमा काभ्रेका अर्जुन लामाको हत्यामा संलग्न भएको आरोप लागेको थियो ।

अर्जुन लामालाई कर्तव्य गरी हत्या गरेको सम्बन्धमा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ । सभामुखमा उहाँको सिफारिस भएपछि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिट समेत सर्वोच्चमा दर्ता भएको छ ।

अन्य

भिडियो