सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय सभाका सदस्य पदका लागि माघ ९ गते भएको निर्वाचन शान्तिपुर्ण रूपमा सम्पन्न भएको छ ।
दुई सदस्यका लागि भएको निर्वाचनमा सुदूरपश्चिम प्रदेशका ५३ जना प्रदेश सभा सदस्य र ८८ स्थानीय तहका १ सय ७६ प्रमुख, उपप्रमुखमध्ये २ सय २७ जनाले मतदान गरेको मुख्य निर्वाचन अधिकृत बिधुर काफ्लेले बताउनु भयो ।
निर्धारित समय बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन भएको मतदानमा प्रदेश सभा सदस्य मिना साउँद र सैपाल गाउँपालीकाका,बझागका उपाध्यक्ष कल्पना बोहराले मतदान गरेनन् । मतदान कार्य सम्पन्न भए पछि सर्वदलिय बैठक बसेर मतगणना शूरू हुने मुख्य निर्वाचन अधिकृत बिधुर काफ्लेले जानकारी दिनु भयो ।
सुदूरपश्चिम प्रदेशमा एक जना खुल्ला र एक जना महिला कोटाको लागि निर्वाचन गरिएको हो । जसमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीबाट खुल्लातर्फ तारामान स्वाँर र महिलातर्फ शारदा भट्ट उम्मेद्वार रहेका थिए भने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबाट खुल्लातर्फ प्रताप ठगुन्ना र महिलातर्फ तुलसि देबकोटा रहेका थिए ।
२०७४ सालमा भएको राष्ट्रिय सभा निर्वाचनमा सुदूरपश्चिम प्रदेशबाट खुल्लातर्फ निर्वाचित साँसद नेपाली कांग्रेसका बद्री पाण्डे र महिलातर्फ निर्वाचित भएकी नेकपाकी सांसद कमला ओलीको पदावधी दुई वर्ष कायम भएको थियो । उहाँको पदावधी फागुन महिनामा सकिने भएको कारण उक्त दुई पदका लागि सुदूरपश्चिम प्रदेशमा चुनाब भएको हो ।
