जिल्ला कारागारमा कैदीबन्दीको चाँपका बढेसँगै बिरामीको संख्यामा बृद्धि भएको कारागार प्रशासनले जनाएको छ । जसका कारण बिरामी कैदी र बन्दीको समयमा उपचार गर्नमा समस्या भएको कारागारले जनाएको छ ।
क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दीका कारण ज्वरो, झाडापखाला, रूघाखोकी, हाईड्रोशिल, थाईराईड, छाला सम्वन्धी सरूवा रोगका कारण समस्या देखिएको छ ।
५० जनाको क्षमता रहेको कारागारमा अहिले कैदी र बन्दी गरी २ सय ८ जना छन् । जेलर कुमारबहादुर खड्काका अनुसार कैदीबन्दीकै चाँपकाकारण दैनिक ६-७ जना बिरामी देखा पर्ने गरेका छन् । उनीहरूलाई अवस्था हेरी जिल्ला अस्पताल, धरानस्थित बिपि कोईराला स्वाथ्य विज्ञान प्रतिष्ठान घोपा र विराटनगर पठाईने गरिएको छ ।
कोठा अभावका कारण कोचिएर कोठा, भान्सा घर, बरण्डामा सुत्नु पर्ने बाध्यताका कारण कैदीबन्दी बिरामी हुने गरेको चौकीदार देबेन्द्र अधिकारीले बताउनुभयो । उहाँले सुताई र बसाईको व्यवस्थापनमा सहज नभएकै कारण कैदबन्दी बढी बिरामी हुने गरेको बताउनुभयो ।
अझ बिरामी कैदीबन्दीलाई राख्ने अलग भवन नहुँदा निरोगी पनि बिरामी हुने गरेको जेलर खड्काको भनाई छ । नयाँ भवन नबन्दा कैदीबन्दी २०३७ सालमा निर्मित चुहुने र पर्खाल भत्किएको जीर्ण भवनमा बस्न बाध्य छन् ।
हाल कारागारमा १ सय ३४ कैैदी र ६७ थुनुवा छन् । जसमा महिला १४ जना छन् । यसवाहेक ६ जना आश्रित बालिका र एक आश्रित बालक पनि छन् ।
कारागार भित्र जेष्ठ नागरिक ६५ वर्षमाथिका एक महिला र चार पुरुष छन् । उनीहरूलाई बस्न अझ समस्या हुने गरेको चौकीदार अधिकारीले बताउनुभयो ।
कैदी र बन्दीको उपचारका लागि स्वास्थ्यकर्मीको प्रभावकारी व्यवस्थापन गर्न नसक्दा बिरामी कैदी र बन्दीलाई समस्या भएको कारागार प्रशासनको भनाइ छ ।