जिल्ला धनुषा मिथिला नगरपालिका–५ का २४ वर्षीय ओमप्रकाश महतो हत्या घटनाका दोषीलाई कारबाही माग गर्दै नेपाल पिछडावर्ग महासङ्घ विराटनगरले पुस २८ गते जिल्ला प्रशासन कार्यालय मोरङ मार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ ।
पिछडावर्ग महासङ्घले ओमप्रकाशको नियोजित हत्या भएको र सो घटनामा संलग्नलाई तत्काल गिरफ्तार गरी कानूनी कारबाही गर्न माग गरेको छ ।
महतोलाई क्रसर सञ्चालकले हत्या गरेको र दोषीलाई कारबाही माग गर्दै मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेल मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण गराएको महासङ्घका अध्यक्ष मदनकिशोर कामतले बताउनुभयो ।
महतोको ०७६ पुस २५ गते क्रसर सञ्चालकले रड प्रहार गरी हत्या गरेको पीडित पक्षको आरोप छ । महासङ्घ बुझाएको ज्ञापनपत्रमापीडित परिवारलाई क्षतिपूर्तिसहित रोजगारीको माग गरिएको छ ।
मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले पीडित पक्षले बुझाएको ज्ञापनपत्र प्रधानमन्त्री कार्यालयमा पठाईने र निर्देशन बमोजिम कारबाही प्रक्रिया अघि बढ्ने बताउनु भएको छ ।

