बाबुको मृत्युमा छोरीलाई काजकिरियाको कर्म गराउने झापा कनकाई नगरपालिका–७ का ४२ वर्षीय कैलाश न्यौपानेलाई पुस.१७ गते नकाबधारी अज्ञात समूहले धम्की दिँदै हातपात गरेको पीडितले बताउनु भएको छ ।
धर्मशास्त्रभन्दा बाहिर गई नियम मिचेर किन ? छोरीलाई अन्तिम संस्कार गराएको भन्दै आफूलाई हातपात गरेको पीडित न्यौपानेको भनाई छ । पुस १७ गते आफ्नो डेरामा आएर नकाबधारीको समूहले आफूलाई हातपात गरेपनि पुस २२ गते मात्र आफूले अरूलाई घटनाका बारेमा जानकारी गराएको पीडित न्यौपानेले बताउनुभयो ।
मृत्तकका छोरा नभए कुनै दाजुभाइ खोजेर काजकिरियामा राख्नुपर्ने भन्दै नकाबधारीको समूहले आफूलाई आक्रमण गरेको पीडितको भनाइ छ ।
बिर्तामोड नगरपालिका–२ चैतुवारीका ३९ वर्षीय टीकाराम खनालको पुस १५ गते मृत्यु भएपछि मृत्तकका छोरा नभएका कारण दुई छोरीहरूले काजकिरिया गरेको र आफूले हिन्दु संस्कार बमोजिम काम गराउँदा आफूलाई आक्रमण भएको पीडित न्यौपानेको भनाइ छ ।
१४ वर्षीया जुनु (भावना) र कान्छी छोरी आठ वर्षीया जेनी (सीता)ले आफ्नो बाबुको पार्थिक शरीरमा दागबत्ती दिएर हिन्दूधर्म परम्पराअनुसार काजकिरिया गरिरहेका छन् ।
मोटरसाइकलमा आएका ४ जनाको समूहले आफूलाई दुर्व्यवहार गरेको पुरोहित न्यौपानेको भनाइ छ ।
समाजमा आईपरेको अप्ठ्यारो अवस्थामा मानवीय सहयोग गर्नु आफ्नो दायित्व सम्झेर गरेको काममा विभिन्न धार्मिक सङ्घसंस्थाबाट सहयोगको सट्टा असहयोग भएको न्यौपानेले गुनासो गर्नुभयो । आफूलाई दुर्व्यवहार भएपनि आफूले कानूनी उजुरबाजुर नगरेको पीडित न्यौपानेले बताउनुभयो ।
आफ्ना दाजुभाइ नभएपछि बुबाको काजकिरिया गर्ने आफ्नै जिम्मेवारी भएको र दिदीबहिनी किरियामा बसेको जेठी छोरी जुनुले बताउनुभयो । उहाँले “अभिभावकका लागि छोराछोरी दुवै बराबरी हुन्छ समाजको हेर्ने दृष्टिकोण सङ्कुचित रहेकाले अनौठो लागेको हुन सक्छ”, जुनुले भन्नुभयो“बुबाले छोरासरह नै काम गर्नु, छोरी हुँ भनेर कहिल्यै पनि पछाडि नहट्नु भन्नुहुन्थ्यो ।”