नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरूले पुस २७ गते सडक डिभिजन कार्यालय दाङका प्रमुख ५३ वर्षीय जितेन्द्र चौधरीमाथि दुर्व्यवहार गरेका छन् । चौधरीको हात साङ्लोले बाधेर मोसो र जुत्ताको माला लगाएर दुर्व्यवहार गरेका हुन।
घोराहीस्थित कार्यालयमा रहनु भएका चौधरीलाई समूहमा आएका उक्त पार्टीका कार्यकर्ताहरूले जुत्ताको माला लगाएर मोसो छ्यापेको जिल्ला प्रहरी कार्यालयका एसपी जनकप्रसाद भटराईले बताउनु भयो । गाईघाट दिग्तेल सडक योजनामा दुई हप्ता अघि सरुवा भइसक्नु भएका चौधरी केही दिन बिदामा बसेर रमाना बुझ्न दाङ आउनु भएको थियो ।
चौधरीमाथि दाङ, चौरजहारी रूकुम, विराटनगर, नेपालगञ्ज र लहान कार्यालयको प्रमुख हुदाँ पचासौं करोड भ्रष्टाचार गरेको, कमिसन अशुल्न विभिन्न वहानामा निर्माण व्यवसायीहरूलाई दुख दिएको, सेवा प्रवाहमा लापरवाही गरेको, विभिन्न आयोजनाहरूको गलत नियतका साथ विल फरफारक गरेको, झण्डै तिन करोड कमिसन लिइ भारतमा लगेर जम्मा गरेको, मर्मत सम्भारको काम नगरेको, समयमै काम नगर्ने निर्माण कम्पनीलाई कारवाही गर्नुको साटो रकम लिएर छुट दिएको, कमिसन नदिने निर्माण व्यवसायीहरूको ठेक्का रद्द गर्ने धम्की दिने गरेको, सरकारी गाडी व्यक्तिगत प्रयोजनमा दुरूपयोग गरेको, पदीय जिम्मेवारी अनुसार नैतिकतामा नबसेको जस्ता आरोप लगाउदै जिल्ला जनपरिषद् दाङको नामबाट कारवाही गरिएको उक्त पार्टीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
जिल्ला जनपरिषद् दाङका प्रमुख भगवानदास चौलागाईद्वारा पुस २७ गते जारी विज्ञप्तिमा इञ्जीनियर चौधरीलाई यस्ता अनियमितताका काम गरी अपराध गर्ने कुचेष्टा स्वीकार्य नहुने उल्लेख गर्दै जनपरिषद, थारूवान स्वायत्त प्रदेशको प्रचलित कानुन बमोजिम कारवाही गर्दै जाने स्मरण गराउदछौ भनिएको छ ।
जिल्ला प्रहरी कार्यालयका एसपी भट्टराईले घटनाको अनुसन्धान भइरहेको बताउनु भयो । पीडितले घटनाबारे उजुरी दिनु भएको छैन ।