INSEC Online

📅 २०८३ जेष्ठ २१

राज्यलाई द्वन्द्व पीडितको प्रश्न “मेरो बुबा कहिलेसम्म बेपत्ता ?”

पुस महिनाको चिसाेमा काठमाडौँको नयाँ बजारमा रहेको एउटा हलभरी मानिसहरू द्धन्द्धमा बुवा गुमाएका एक किशोरको आक्रोश मिश्रीत पीडा सुन्दै थिए ।

हलमा उपस्थित सबै मानिसको चेहरा मलिन थियो । मन्चमा बोल्दै गरेका ति किशोर राज्यलाई सोध्दै थिए, “मेरो बुवा वेपत्ता हो कि शहिद ? म मेरो बुबालाई शहिद मान्न तयार छैन किनकी हामिले उहाँको हत्या भएको आजसम्म पनि थाहा पाएका छैनौँ । कृपया उहाँलाई शहिद भन्ने गल्ति नगरिदिनु होला ।” ति युवक हुन् २०५५ साल पुस २४ तनहुँमा प्रहरीबाट गिरफ्तार गरी बेपत्ता बनाईएका राजेन्द्र ढकालका छोरा विवेक ।

ढकाललाई स्थानिय गाम्दीखोलामा नुहाउँदै गर्दा सुरक्षाकर्मीले गिरफ्तार गरेकोसम्म परिवारलाई थाहा छ । पेशाले शिक्षक रहेका उनलाई प्रहरीले तत्कालिन विद्रोही माओवादी भएको आरोपमा पक्राउ परेको थियो । बुबा गिरफ्तार पर्दा एक वर्षका विवेक अहिले २२ वर्ष भए । घटना भएको २१ वर्ष बित्यो । बुबाको अवस्था अज्ञात नै छ । यो बिचमा परिवार न्याय माग्दै अधिकारकर्मी, राष्ट्रिय मानव अधिकार आयोग, राजनीतिक दलहरू देखि सर्वोच्च अदालतको ढोकासम्म पुग्यो । तर राजेन्द्र जीवित छन् कि मृत पत्ता लाग्न सकेको छैन ।

पुस २४ गते आयोजित ‘राज्यद्वारा बेपत्ता पारिएका राजेन्द्र ढकाल स्मरण र खोज अभियान’ कार्यक्रममा परिवारका सदस्यहरूले आफन्त खोजि दिन अधिकारकर्मी तथा सरोकारवालाहरूलाई आग्रह गरे । परिवारजनले राजेन्द्रलाई गिरफ्तार गर्ने बेल चौतारा इलाका प्रहरी कार्यालयका तत्कालीन इन्सपेक्टर कुशविक्रम राणालाई गिरफ्तार गरी अनुसन्धान गर्न माग गरे । वेपत्ता ढकालका भाई रविन्द्रले तत्कालिन इन्सपेक्टर राणालाई गिरफ्तार गरी अनुसन्धान गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो । सो रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले २०६४ जेठ १८ गते राणालाई पक्राउ आदेश दिएको थियो । तर पनि हालसम्म राणामाथी कुनै अनुसन्धान भएको छैन ।

श्रीमति विमला ढकालले अदालतको आदेशको समेत अवज्ञा हुँदा आफुहरू थप पीडामा परेको गुनासो गर्नुभयो । ढकालले संक्रमणकालीन न्यायको टुंगो लगाउन र जनयुद्धको समयमा बेपत्ता भएकाको वास्तविकता पत्ता लगाउन गठन भएको सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोग काम बिहिन हुनु दुःखद् भएको बताउनुभयो । “बेपत्ता छानबिन आयोग आफै गुमनाम छ । बेपत्ताको अवस्था के छ ?’ उहाँले भन्नुभयो “बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग नेतृत्व बिहिन हुँदा परिवारको चोटमा अझ पीडा थपिएको छ ।”

अन्य

भिडियो