INSEC Online

📅 २०८३ जेष्ठ २१

तीनजना कृषि प्राविधिकको भरमा सिङ्गो नगरपालिका

चौतारा सागाचोकगढी नगरपालिका–७ सिरुबारीका कृषक दुर्गाप्रसाद श्रेष्ठले लगाएको तरकारी बारीमा रोग लाग्दा के उपचार गर्ने भन्ने सल्लाह लिन कृषि प्राविधिक पाउनु भएन । समयमा नै प्राविधिक सल्लाह नपाउदा उहाँले लगाएको काउली तरकारी रोगले डढ्याे ।

‘समयमा नै प्राविधिक सल्लाह लिएर उपचार गर्न पाएको भए तरकारीमा लागेको रोग निको हुन्थ्यो होला । तर, प्राविधिक नपाउँदा यस वर्षको मेहनत त्यसै खेर गयो’ श्रेष्ठले भन्नुभयो । सोहि नगरपालिका–७ नेपानेका दुर्गाप्रसाद नेपालको पनि गुनासो त्यस्तै छ । ‘खै अब त गाउँगाउँमा सिंहदरवार आयो भन्छन् । तर हामीले तरकारी बालिमा रोगलाग्दा कृषि प्राविधिक पाएनौं’ उहाँले भन्नुभयो ‘माटो अनुसारको बालि लगाउन पराशर्मको लागि होस् वा बालिमा किरा लाग्दा प्राविधिकको सल्लाह लिन होस् समस्या नै छ ।’

जिल्लाकै सबैभन्दा ठूलो नगरपालिका चौतारा सागाचोकगढी नगरपालिकामा १४ ओटा वडाहरु छन् तर । तीनजना मात्र कृषि प्राविधिकहरू रहेको छन् । उहाँहरू मध्यपनि एकजनाले नगरपालिकाको कृषि शाखामा बस्नु पर्ने भएकाले दुईजना प्राविधिक कृषकहरूको खेतवारीमा पुग्न त परैजाओस सल्लाह लिन कार्यालयमा आएका कृषकहरूलाई सल्लाह दिन समेत नभ्याएको नगरपालिका मेयर अमानसिं तामाङले बताउनुभयो । “कृषकहरूको माग र भनाई जाहेज हो, दरबन्दी अनुसारको कर्मचारी नहुँदा समस्या छ” मेयर तामाङले भन्नुभयो ।

चौतारा सागाचोकगढी नगरपालिकामा मात्र हैन जिल्लामा अन्नको भण्डार भनेर चिनिने मेलम्ची नगरपालिकामा समेत कृषि प्राविधिकहरूको समस्या रहेको मेयर डम्बर अर्यालले बताउँनुभयो । “कृषकहरूलाई प्राविधिक सेवा दिन सकिएको छैन्” मेयर अर्यालले भन्नुभयो “कृषि प्राविधिकलाई गाउँमा पठाउनै गाह्रो छ,पठाएकालाई टिकाउनै गाह्रो ।”

कृषकको बालिमा रोग लाग्दा र कृषि प्राविधिकको सल्लाह नपाउँदा उत्पादनमा कमी भएको जिल्ला समन्वय समितिका उपप्रमुख बालकुमारी सापकोटाले बताउनुभयो ।

अन्य

भिडियो