INSEC Online

📅 २०८३ जेष्ठ २१

स्थानीय तहकाे प्रयासमा रोकिए १२ ओटा बालविवाह

 

मकवानपुरको पश्चिमी क्षेत्रमा रहेकाे मनहरी गाउँपालिकाले एकबर्षमा १२ वटा बालविवाह हुनबाट रोकेको छ ।

बालमैत्री स्थानीय शासन निर्माण गरी गाउँपालिकालाई बालमैत्री घोषणा गर्ने अन्तिम चरणमा रहेको मनहरी गाउँपालिकाले २०७५ मङ्सिरदेखि ०७६ पुसको २० गतेसम्म १२ वटा बालविवाह रोकेको हो ।  बाल सञ्जालको सक्रियतामा २०७६ पुस ११ गते मनहरी गाउँपालिका–६ रुपाचुरीमा एउटा बालविवाह हुनबाट रोकेको गाउँपालिकाको बालमैत्री फोकल पर्सन शान्ति अधिकारीले बताउनुभयो । २० बर्षभन्दा कम उमेरमा विवाह गर्न लागेका बालबालिका तथा उनका परीवारलाई परामर्श दिई बालविवाह गर्नबाट रोकेको उहाँले बताउनुभयो ।

बाल विवाह न्यूनिकरणको लागि छलफल गर्दै जिल्ला समन्वय समिति मकवानपुर उपप्रमुख भगवति पुडासैनी,मनहरी गाउँपालिका मनिला विष्टलगायत स्थानीय सरोकारवालाहरु

कुल ४६ हजार आठसय ५३ जनसङ्ख्या रहेको मनहरीमा १५ हजार सातसय ३९ जना बालबालिका छन् । गाउँपालिकामा २०७० देखि २०७५ सम्मको अवधिमा  एकहजार दुइसय १६ जनाले बालविवाह गरेका थिए । गाउँपालिकाको वडा ३, ४ र ६ मा बालविवाहबाट बढि प्रभावित छन् । प्रभावित वडाहरुमा घरदैलो कार्यक्रम गरेर जनचेतना जगाउने र गाउँपालिकामा वडा तहमा बाल क्लब गठन गरी सक्रिय बनाउने काम गरेको उपाध्यक्ष मनिला बिष्टले बताउनुभयो । बालविवाह र बालश्रमको उच्च जोखिम रहेको मनहरीलाई निकृष्ट बालश्रमको अन्त्य र बालविवाह अन्त्य गर्दै बालमैत्री गाउँपालिका घोषणा गर्न लागेको बताउनुभयो ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले मनहरी गाउँपालिकामा शिक्षा, स्वास्थ, खाद्य र आवासको अधिकारको सवालमा काम गर्दै आएको छ । बाल विवाह र बालश्रम अन्त्य गर्ने गाउँपालिकाको अभियानलाई साथ इन्सेकको बाल अधिकार सचेतना समुहपनि सक्रिय रहेको वडा नम्बर ४ मसिने स्थित पशुपति माविका प्राध्यानाध्यापक भानुभक्त आचार्यले बताउनुभयो ।

अधिकार बालबिवाहको उच्च जोखिममा रहेको मनहरी गाउँपालिकाले डेढ बर्षदेखि विभिन्न कार्यक्रम सञ्चालन गरी गाउँपालिकालाई बालमैत्रि बनाउने अभियान सञ्चालन गरिरहेको छ । गाउँपालिकाले अभियान कै क्रममा एकसय ९४ जना बालबालिकालाई निकृष्ट बालश्रमबाट उद्वार गरेको उपाध्यक्ष बिष्टले बताउनुभयो । मनहरी गाउँपालिका २०७६ पुस २८ गते देशभरको चारसय ६० गाउँपालिका मध्ये पहिलो बालमैत्री स्थानीय शासन लागु भएको गाउँपालिका घोषणा हुँदैछ ।

अन्य

भिडियो