अदालतको अपहेलना मुद्दामा जिल्ला अदालतले पुस १८ गते जिल्ला प्रहरी कार्यालय र एसपी जनकप्रसाद भट्टराईका नाममा १५ दिन भित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ ।
जिल्ला अदालतका न्यायाधीश रितेन्द्र थापाको इजलासले कारवाही गर्नु नपर्ने कारण प्रमाणसहित लिखित जवाफ पेश गर्न आदेश दिएको हो ।
जिल्ला अदालतले धरौटीमा रिहा गरेका नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरूलाई अदालत परिसरबाट पुस १७ गते पुनः गिरफ्तार गरेपछि घोराही उपमनपा–१७ की ३५ वर्षीया छिमा पुन, घोराही उपमनपा–१६ की ३४ वर्षीया शिवा बोहोरा, तुलसीपुर उपमनपा–१२ की ३३ वर्षीया सीता वली र लमही नपा–३ का २५ वर्षीय उमिरलाल चौधरीले पुस १७ गते प्रहरी विरूद्ध अदालतको अपहेलना मुद्दा दर्ता गराउनु भएको थियो ।
उक्त पार्टी निकट युवा संगठनका केन्द्रीय सदस्य ३९ वर्षीय तिलक पुन, अखिल नेपाल किसान संघ दाङका अध्यक्ष ४३ वर्षीय एकराज चौधरी, राजपुर गापा इन्चार्ज ३७ वर्षीय धनबहादुर बोहरा र पार्टी सदस्य ३४ वर्षीय कुलबहादुर वली लगायत २१ जनालाई प्रहरीले राजपुर गापा–४ बाट असोज ३० गते गिरफ्तार गरी राज्य विरूद्धको संगठित अपराध कसुरमा मुद्दा चलाएको थियो ।
जिल्ला अदालतले पुस ७ गते जनही १५ हजार रूपियाँ धरौटीमा रिहा गर्ने आदेश दिएपनि पुनः गिरफ्तार हुने डरले धरौटी नबुझाए पछि थुनामा गएका थिए । जिल्ला अदालतमा पुस १६ गते धरौटी रकम बुझाएर रिहा भएका चार जनालाई प्रहरीले अदालत परिसरबाट पुनः गिरफ्तार गरेको थियो ।