INSEC Online

📅 २०८३ जेष्ठ २२

गजुरेलसहितका मओवादी नेताहरू गिरफ्तार

मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीको मोर्चा देशभक्त तथा जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सीपी गजुरेलसहितका नेताहरूलाई प्रहरीले पुस १३ गते गिरफ्तार गरेको छ ।

भारतद्वारा लिम्पियाधुरा, कालापानी, लिपुलेक क्षेत्रलाई भारतमा गाभी तयार पारिएको नयाँ नक्सा लगायत राष्ट्रिय स्वाधीनताका विषयमा ज्ञापनपत्र दिन सिंहदरवारमा जाने क्रममा प्रहरीले गजुरेलसहितका नेताहरूलाई गिरफ्तार गरेको हो ।

गिरफ्तार पर्ने अन्य नेताहरूमा स्थायी समिति सदस्य परी थापा, पोलिटब्यूरो सदस्यद्वय पवनमान श्रेष्ठ र सुरेश श्रेष्ठ, केन्द्रीय सदस्यहरू दीपक शाही, हरिकृष्ण गजुरेल, फुर्नाम्गेल मोक्तान, वसन्त बोगटीसहित खगेन्द्र छन्त्याल, पद्म भण्डारी, सुन्दर श्रेष्ठ, मीन प्रसाद गिरी, नरेन्द्र कार्की, अमित योञ्जन रहेका छन् ।सबैलाई महेन्द्र पुलिस क्लवमा हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

यसैबिच नेकपा माओवादीका महासचिव मोहन बैद्यले विज्ञप्ति जारी गरी गिरफ्तारीमा परेका आफ्ना नेता कार्यकर्ताको निशर्त रिहाईको माग गर्नुभएको छ।

उहाँले प्रहरी हस्तक्षेपको भत्र्सना गर्दै गिरफ्तार गरिएका नेता तथा कार्यकर्ताहरूको अविलम्ब रिहाइ र घाइते तुल्याइएका नेता तथा कार्यकर्ताहरूको उपचारका लागि सरकारसँग माग समेत गरेको छ ।

प्रहरीको लाठी चार्जका क्रममा पार्टीका पोलिटब्यूरो सदस्य दिनेश शर्मा तथा सुरेश श्रेष्ठ, केन्द्रीय सदस्य शारदा महत, महिला नेतृ सुनीता बोगटी लगायत घाइते भएको पनि विज्ञप्तिमा जनाइएको छ ।

अन्य

भिडियो