जिल्लामा सन् २०१९ मा एकसय वटा मानव अधिकार उलङ्घनका घटना भएको सार्वजनिक गरिएको छ । अनौपचारीक क्षेत्र सेवा केन्द्र इन्सेकले मानव अधिकार वर्ष पुस्तक २०१९ को लागि सङ्कलित घटनाको बारेमा पूर्व समीक्षा कार्यक्रममा यस्तो तथ्याङ्क सार्वजनिक गरिएको हो । प्रतिवेदन अनुसार बालिका हत्या तीन, वेचबिखन एक, बलात्कार आठ, बलात्कार प्रयास सात, अपहरण तथा शरिर बन्धक एक, हत्या एक गरि २१ जना बालिका पीडित भएको जनाईएको छ ।
यसै गरी महिला अधिकारसँग सम्बन्धित हत्या एक, बलात्कार जन्य हिंसा आठ, बहुविवाह १२, घरेलु हिंसा ४८ गरि ६९ ओटा घटना भएको उल्लेख गरिएको छ । यस्तै जिल्लामा सर्वजनिक सम्पति तोडफोड एक, आगजनी एक, बम विस्फोट एक, कुटपिट तथा अभद्र व्यवहार दुई, हत्या प्रयासका चार ओटा घटना भएको तथ्याङ्क सार्वजनिक गरिएको छ ।
एक वर्षमा ७१ महिला, २१ बालिका, एक बालक, ११ जना पुरुष गरि १ सय ४ जान पीडित बनेका छन् । घटना विवरण अनुसार राज्य पक्षबाट गैर कानुनी गिरफ्तारबाट चार जना र कुटपिट तथा अभद्र व्यवहारबाट दुई जना पीडित बनेको देखिएको छ भने गैर राज्य पक्षबाट ९८ ओटा मानव अधिकार उलङ्घनका घटना भएको पाईएको छ ।
प्रतिवेदन अनुसार जिल्लाका ९ स्थानीय तहमध्ये कमलामाई नगरपालिकामा ४०, दुधौली नगरपालिकामा २२, तिनपाटन गाउँपालिकामा ९, मरिण गाउँपालिकामा ९, गोलन्जोर गाउँपालिकामा ६, हरिहरपुरगढी गाउँपालिकामा ५, सुनकोसी गाउँपालिकामा ५, घ्याङलेख गाउँपालिकामा २ र फिक्कल गाउँपालिकामा २ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतिका घटना भएको इन्सेक जिल्ला प्रतिनिधि बिमला पाण्डेले बताउनुभयो ।
मानवअधिकार उलङ्घन तथा ज्यादतिका घटनाहरूको पूर्व वार्षिक समीक्षा कार्यक्रम सिन्धुलीमाढीमा पुस १५ गते सम्पन्न भएको हो । इन्सेक जिल्ल्ला कार्यालय तथा जिल्ला स्तरीय मानवअधिकार सञ्जालको आयोजनामा भएको कार्यक्रममा बोल्दै सिन्धुली जिल्लाका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जिल्लामा भएका मानव अधिकार उलङ्घनका घटना मात्र नभई मानव अधिकार संरक्षणमा सरकारी निकायबाट भएका उल्लेख्य काम पनि वर्ष पुस्तकमा समेट्न सुझाव दिनुभयो ।
उहाँले मानवअधिकार संरक्षणमा भएका उदाहरणीय काम उल्लेख हुँदा मानव अधिकार संरक्षणमा अरुलाई समेत सिकाई हुने भन्दै त्यसतर्फ पनि मानव अधिकार वर्ष पुस्तकको ध्यान जानुपर्ने बताउनुभयो । उहाँले सिन्धुलीमा आत्महत्याको दर अत्यधिक बढेको बताउँदै यसको विश्लेषण प्रतिवेदन तयार गर्न समेत इन्सेकलाई सुझाव दिनुभयो । मानवअधिकार संरक्षणमा सेना, प्रहरी तथा अन्य राष्ट्रसेवकहरू सचेत हुन समेत उहाँको सुझाव छ ।
कार्यक्रममा बोल्दै कमलामाई नगरपालिकाका उपप्रमुख मञ्जु देवकोटाले समाज पछिल्लो समय विकृत बन्दै गएको बताउँदै मदिरा, सामाजिक सञ्जाल लगाएतको दुरुपयोगका कारण जघन्य खालका अपराधहरू बढ्दै गएको बताउनुभयो । उहाँले जनप्रतिनिधि आएपछि घटना सार्वजनिक हुने क्रम बढेको बताउँदै स्थानीय सरकारले मानवअधिकार संरक्षणमा विशेष नीति बनाएर काम गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
सिन्धुली जिल्ला प्रहरी कार्यालयका प्रमुख रञ्जु सिग्देलले पीडितलाई न्याय दिँदा पीडकको मानव अधिकारको समेत ख्याल गर्नुपर्ने बताउनुभयो । उहाँले स्थानीय तहले समेत बलात्कार लगाएतका फौजदारी र जघन्य खालका अपराधमा मेलमिलाप गराउन खोज्दा समस्या हुने गरेको समेत बताउनुभयो ।
कार्यक्रममा सहायक न्यायाधिवक्ता कपिल रोक्काले प्रहरीले वकिलको जाहेरी माग्ने गरेकाले समस्या भएको भन्दै प्रहरीले पीडितको मौखिक उजुरीलाई नै आधार बनाएर अनुसन्धान गर्न आग्रह समेत गनुभयो । यस्तै नेकपा सिन्धुलीका संगठन विभाग प्रमुख सूर्य पाख्रिनले सामाजिक संरचना र बुझाईको स्तरका कारण जघन्य घटना मेलमिलापमा जाने गरेको पाईएको बताउनुभयो । उहाँले मानवअधिकार संरक्षणमा सहयोग गर्ने प्रतिवद्धता जनाउँदै राजनीतिक दलका कारण मानवअधिकार उलङ्घन भएमा पत्रकार र नागरिक समाजले बाहिर ल्याउन समेत आग्रह गर्नुभयो ।
जिल्ला स्तरीय मानवअधिकार सञ्जालका संयोजक द्वारिका काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि बिमला पाण्डेले जिल्लामा भएका मानवअधिकार उलङ्घन तथा ज्यादतिका घटनाका एक वर्षको अवस्थाको विश्लेषण सहितको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।