जिल्ला अस्पताल डोटीमा मङ्सिर महिनादेखि दरबन्दी अनुसार डाक्टर नहुँदा बिरामीहरू मर्कामा परेका छन् ।
जिल्ला अस्पतालमा चार जना डाक्टरको दरबन्दी रहेकोमा एक जना डाक्टरको भरमा सेवा दिनु परेको अस्पताल प्रशासनले जनाएको छ ।
आदर्श गाउँपालिका–२ मौवा डोटीका गणेश ओझाले विशेषज्ञ डाक्टर नहुँदा बिरामीलाई अन्यत्र लैजानु परेको बताउनुभयो ।
उहाँले भन्नुभयो–‘भाउजुलाई सुत्केरी ब्याथा लागेपछि जिल्ला अस्पताल ल्याएकोमा शल्यक्रिया गरी बच्चा जन्माउनु पर्ने समस्या देखियो । विशेषज्ञ डाक्टर नहुँदा चर्को मुल्य तिरी निजी अस्पतालमा लैजान बाध्य भयौँ ।’
विशेषज्ञ डाक्टरको अभावका कारण शल्यक्रिया गर्न र शवको पोष्टमार्टमको लागि पनि डडेल्धुरा अस्पताल पर्याउनु पर्ने बाध्यता रहेको छ ।
दरबन्दी अनुसार डाक्टर नहुँदा सेवाग्राहीको भिडले सामान्य बिरामीलाई पनि बाहिर रिफर गर्नुपर्ने बाध्यता रहेको दिपायल सिलगढी नगरपालिका–६ सिलगढीका धनबहादुर बोहराले बताउनुभयो ।
जिल्ला अस्पताल डोटीमा कार्यरत डाक्टरको सरुवा भएपछि अहिले जिल्ला अस्पताल डोटी डाक्टरविहीन अवस्थामा रहेको दिपायल सिलगढी नगरपालिकाका स्वास्थ्य संयोजक गणेशबहादुर भण्डारीले बताउनुभयो ।
जिल्ला अस्पताल डोटीमा दैनिक रूपमा १ सयदेखि ३ सय जना बिरामी दैनिक सेवा लिन आए पनि एक जना डाक्टरले परामर्श बाहेक अन्य उपचार गर्न नसकिएको र विभिन्न किसमका रोगको उपचार गर्न जनशक्ति अभावका कारण टाढाबाट आएका बिरामीलाई अन्यत्र रिफर गर्नुको विकल्प नरहेको जिल्ला अस्पताल डोटीका मेडिकल अधिकृत डाक्टर ज्योती पाण्डेले बताउनुभयो ।
जिल्ला अस्पतालमा सबै सेवा भएतापनि कर्मचारी अभावका कारण सेवा प्रवाहमा समस्या भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश मलासीले बताउनुभयो ।
उहाँले भन्नुभयो–‘कर्मचारी समायोजनमा सरुवा भएपछि सो समस्या उत्पन्न भएको हो समस्या समाधान गरी जनतालाई सेवा दिन हामी प्रयासरत छौँ ।’
जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष यज्ञराज जोशीले असपतालमा डाक्टर नहुँदा सेवाग्राही मारमा परेको विषयलाई आफूले गम्भीर रूपमा लिई स्वास्थ्य सेवा विभागमा जानकारी गराइसकेको बताउनुभयो ।