दाङका दुई ओटै कारागारमा स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीको स्वास्थ्य उपचारमा समस्या भएको छ । जिल्ला कारागार कार्यालय घोराहीमा कार्यरत सिनियर अहेव योगेन्द्र रिजाल समायोजनमा परी घोराही उपमहानगरपालिकामा गएपछि ०७६ असोजदेखि कारागारमा कैदीबन्दीको स्वास्थ्य उपचारमा समस्या भएको कारागारका जेलर विष्णु पाण्डेले जानकारी दिनुभयो ।
‘झण्डै चार महिना हुन थाल्यो । चिसोले रूघाखोकी, हातगोडा दुख्ने, ज्वरो आउने, टाउको दुख्नेजस्ता समस्याहरू नियमित जस्तै हुन्छन् ।’–जेलर पाण्डेले भन्नुभयो–‘नयाँ स्वास्थ्यकर्मी नआउँदा उपचारमा समस्या भएको छ ।
उहाँले कहिलेकँही धेरै समस्या भए रिजाललाई नै बोलाएर स्वास्थ्य जाँच गराउने गरेपनि कारागारकै दरबन्दीको स्वास्थ्यकर्मी नआउँदा रातको समयमा समस्या भइरहेको बताउनुभयो ।
‘दरबन्दीको स्वास्थ्यकर्मी आउनु भएकै छैन । कारागारमा स्वास्थ्यकर्मी नहुँदा सानोतिनो स्वास्थ्य समस्या पर्दा पनि अस्पताल नै पु¥याउनुपर्छ ।’–जेलर पाण्डेले भन्नुभयो–‘कैदीबन्दीलाई अस्पताल ल्याउने, लैजाने गर्दा खर्च बढेको छ ।’
उहाँले कारागारमा आफ्नै गाडी नहुदाँ पनि स्वास्थ्य उपचारमा झन् समस्या भएको बताउनुभयो । ‘कारागारको गाडी छैन । आपतकालिन बिरामीहरूलाई अस्पताल लैजान ल्याउन भाडाका गाडी प्रयोग गर्नुपर्छ ।’–जेलर पाण्डेले भन्नुभयो–‘भाडाका गाडी प्रयोग गर्नुपर्दा उपचारका लागि आएको बजेट गाडी भाडामा खर्च भएको छ ।’
उहाँले चालु आर्थिक वर्षमा कैदीबन्दीको उपचारका लागि १ लाख ८० हजार रुपियाँ बजेट आएकोमा ६ महिना नबित्दै १ लाख ५० हजार खर्च भइसकेको जानकारी दिनुभयो ।
कारागारको क्षमता ७० जनाको भएको र त्यही आधारमा बजेट पठाउने गरेकाले कैदीबन्दीलाई उपचारमा समस्या परेको उहाँको भनाइ छ ।
घोराही कारागारमा अहिले ३ सय ८ जना कैदीबन्दी छन् । कारागार प्रशासनले बजेट अपुग भएको भन्दै प्रदेश सरकारसँग १ लाख रुपियाँ मागेपनि एकमहिना बितिसक्दा पनि सुनुवाइ नभएको जनाएको छ ।
तुलसीपुर कारागारमा पनि स्वास्थ्यकै समस्या
तुलसीपुरस्थित कारागारमा पनि स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीको उपचारमा समस्या भएको छ । सिनियर अहेव द्रोण वली समायोजन भइ गएपछि ०७६ असोजदेखि नै कारागार स्वास्थ्यकर्मीविहीन भएको कारागारका जेलर जोखिम वलीले जानकारी दिनुभयो ।
तर, तुलसीपुर कारागारमा थुनुवालाई अदालत ल्याउने लैजाने आफ्नै गाडी भएकाले खाली समयमा कैदीबन्दीको उपचारका लागि प्रयोग गर्ने गरिएको जेलर वलीको भनाइ छ ।
वार्षिक ६ लाख रुपियाँ उपचारका लागि आउने गरेकोले बजेटको अभाव भने नभएको उहाँको भनाइ छ । हाल तुलसीपुर कारागारमा ३४ महिलासहित ३ सय ७६ कैदीबन्दी छन् ।