पचरौता नपा–१ पिपरपाती की ३८ वर्षीया मालती देवीको शव जलाउँदै गरेको अवस्थामा प्रहरीले पुस ४ गते नियन्त्रणमा लिएको छ ।
महतोको घरदेखि ४ सय मिटर नजिक नेपाल भारत दशगजा सीमानामा मालतीदेवीको शव जलिरहेको भएपनि मलामी नदेखेकाले शङ्का लागि महिलाको शव नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय सिम्रोनगढका सई वीरेन्द्र महतोले बताउनु भयो ।
पुस ४ गते बिहान १०ः४५ बजेको समयमा ४० वर्षीय रामदयाल महतोकी पत्नी मालती देवीको मृत्यु भएको जानकारी पाउना साथ इलाका प्रहरी कार्यालय सिम्रोनगढका सई महतोको अगुवाइमा मृतकको घरमा पुगी खोजतलास गर्दा केही नभेटेको सई महतोले बताउनु भयो ।
मृतक महिलाको माइत भारत बिहार मोतिहारी छौडादानौ ग्राम जयनगर जवापुर रहेको सोही वडाका वडा अध्यक्ष जगतनारायण प्रसाद यादवले बताउनु भयो ।
पुस ३ गते राति मृतक महिला र पतिबिच झैझगडा भएको र महिलाको ज्यान गएको आशङ्का रहेको जिल्ला प्रहरी कार्यालयका एसपी विकास राज खनालले बताउनु भयो ।
प्रारम्भिक अनुसन्धान गर्दा रामदयालले पत्नी मालती देवीको हत्या गरेर जलाउँदै गरेको रहस्य खुलेपछि शव नियन्त्रणमा लिई घटनाको विशेष अनुसन्धान भइरहेको एसपी खनालले बताउनु भयो ।
महिलाको शव जलाउँदै गरेको अवस्थामा आगोलाई निभाएर कम्मर र गोडाको भाग नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।
मृतकका पति रामदयालले हत्या गरी जलाएको महिलाका आफन्तजनले प्रहरी चौकी पिपरपातीलाई पुस ४ गते बिहान जानकारी गराएका थिए ।
घटनाका आरोपित मृतक मालती देवीका पति र उनका परिवारका सदस्यहरू सोही दिन रातीदेखि फरार रहेको प्रहरीले जनाएको छ ।