INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकार हनन्का घटना रोक्न ‘स्टीकर’ अभियान

छत्रेश्वरी गाउँपालिकाले मानव अधिकार हनन्का घटना रोक्न ‘स्टीकर अभियान’ सुुरू गरेको छ । मानव अधिकारका घटनाहरू समाजमा दिनानुदिन बढ्दै गइरहेको भन्दै गाउँपालिकाले यस्तो अभियान थालेको जनाएको छ ।

अभियानले बालविवाह, आत्महत्या, बालश्रम, स्वास्थ्य तथा शिक्षाको अधिकारलगायत मानव अधिकारसँग सम्बन्ध राख्ने घटना न्यूनीकरणमा सहयोग पुग्ने गाउँपालिका अध्यक्ष सन्तोष केसीले बताउनुभयो ।

चेतनामूलक सन्देश समावेश गरिएको स्टीकरमा आकस्मिक सम्पर्क नम्बरहरू समेत समावेश गरिएको गाउँपालिकाले जनाएको छ ।

स्टीकरमा आत्महत्या कायरता हो, २० वर्ष पुरा नभई विवाह गर्नु र गराउनु दण्डनीय अपराध हो, बाल मजदुरी हटाआँै बालबालिकालाई विद्यालय पठाऔँलगायत सभ्य शान्त समाज निर्माणमा सहभागी बनाउनका लागि अपिल राखिएको गाउँपालिकाका अध्यक्ष केसीले बताउनुभयो ।

स्टीकर सँगसँगै मानव अधिकार हनन्का घटना, सामाजिक कुरीति र अपराध न्यूनीकरणका लागि जनचेतना समेत जगाइने अध्यक्ष केसीले बताउनुभयो ।

करिब ५ हजार प्रति सन्देशमुलक स्टीकर छत्रेश्वरी गाउँपालिकाका सातै वडाका ४ हजार ७ सय घर र पसलहरूमा टासिने गाउँपालिका कार्यालयले जनाएको छ ।

स्टीकरमा राखिएको सुचनाले पनि जिल्लामा व्याप्त सामाजिक कुरीतिमा कमी आउने गाउँपालिका अध्यक्ष केसीले विश्वास व्यक्त गर्नुभयो ।

जिल्ला प्रहरी कार्यालय, सल्यानका डिएसपी ढकेन्द्र खतिवडाले सामाजिक अपराध न्यूनीकरणमा अभियानले महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो ।

आकस्मिक रूपमा प्रहरी प्रशासन, स्वास्थ्य लगायतका सेवा लिनु परेमा नागरिकहरूलाई सहज बनाउने उद्धेश्यका साथ गाउँपालिकाका प्रत्येक घरघरमा टाँस्नको लागि स्टीकर अभियान गरिएको गाउँपालिका उपाध्यक्ष सिता केसीले बताउनुभयो ।

यस अघि गाउँपालिकाको कार्यालयले गाउँपालिका भित्रका सबै प्रहरी चौकी र एम्बुलेन्स चालकहरूलाई स्थायी रूपमा प्रयोग हुनेगरी मोबाइल तथ सिमकार्ड उपलब्ध गराएको थियो ।

Photo20191220Salyan01

Photo20191220Salyan02

Photo20191220Salyan03

अन्य

भिडियो