१४ वर्षीया बालिका र २२ वर्षीया युवतीलाई होटलमा जबरजस्ती यौन कार्यमा लगाएको आरोपमा चितवन प्रहरीले तीन जनालाई मङ्सिर २९ गते गिरफ्तार गरेको छ ।
भरतपुर महानगरपालिका–२९ जुगेडीमा रहेको खोटाङ सगरमाथा होटल एण्ड गेष्ट हाउसका सञ्चालक भरतपुर महानगरपालिका–२९ जुगेडी बस्ने ५० वर्षीय जङ्गबहादुर क्षेत्री, क्षेत्रीकी ३९ वर्षीया पत्नी निर्मला थापा क्षेत्रीलाई गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।
त्यसैगरी सुनसरी जिल्लाको धरान उपमहानगरपालिका–८ लेटाङ बस्ने २४ वर्षीया रोशिका राईलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी दानबहादुर मल्लले जानकारी दिनुभयो ।
गिरफ्तार गरिएकाहरूविरूद्ध मानव बेचबिखनको मुद्दा दर्ता गरिएको छ ।
पीडितद्वयलाई रोशिका राईले काठमाडौँबाट ललाइफकाई गरी घुम्न जाउँ उक्त होटलमा राखेको र रोशिका राई, जङ्गबहादुर क्षेत्री र निर्मला थापा क्षेत्री समेत भई होटल कोठामा बन्धक बनाई डरत्रासमा पारी जबरजस्ती यौन कार्यमा लगाएको प्रहरीले जनाएको छ ।