जिल्ला हुलाक कार्यालय रामेछाप अन्तर्गतका करार सेवामा कार्यरत १५ जना कर्मचारीहरूले सो कार्यालयले न्युनतम पारिश्रमिक उपलब्ध नगराएको भन्दै जिल्ला प्रशासन कार्यालय रामेछापमा उजुरी गरेका छन् ।
कार्यालयमा कार्यरत करार सेवाका हल्करा र हुलाकी पदका कार्मचारीहरूले संयुक्त रूपमा ०७६ पुस २९ गते कार्यालय प्रमुुख मञ्जुु शर्माविरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी गरेका हुन् ।
हुलाक सेवा विभागले न्युुनतम पारिश्रमिक कार्यान्वयन गर्न २०७६ कात्तिक १८ गते नै कार्यालयमा परिपत्र गरेको भए पनि कार्यालयले न्युनतम पारिश्रमिक नदिएको भन्दै उनीहरूले न्युनतम पारिश्रमिक उपलब्ध गराउन माग गर्दै जिल्ला प्रशासन कार्यालयमा लिखित उजुरी दर्ता गराएका हुन् ।
विभागले न्युनतम पारिश्रमिक १३ हजार ४ सय ५० उपलब्ध गराउन कात्तिकमै पत्राचार गरेको भए पनि कार्यालयले हालसम्म पनि आफूहरूलाई ८ हजार रुपियाँमात्र तलब उपलब्ध गराउँदै आएको निवेदक सुब्बा थापाले बताउनु भयो ।
अन्य जिल्लामा न्युनतम पारिश्रमिक उपलब्ध गराइसकेको अवस्थामा जिल्ला हुलाक कार्यालय रामेछापमा प्रमुख मञ्जू शर्माले आफूहरूको मागको सुनुवाइ नगरेपछि जिल्ला प्रशासनमा उजुरी गरेको उहाँले बताउनु भयो ।
कराराका १५ जना कार्मचारीहरूसँग विभागबाट पत्र आउनु अघि नै ६ महिनाको लागि मासिक ८ हजार रुपियाँमा काम गर्ने गरी सम्झौता भई सो सम्झौताको म्याद नसकिएकोले नयाँ पत्र अनुसार पारिश्रमिक उपलब्ध गराउन नसकिएको कार्यालय प्रमुख शर्माले बताउने भयो ।
यस विषयमा कार्यालयमा उजुरी आएको जिल्ला प्रशासन कार्यालय रामेछापको मुद्दा फाँटका नायव सुब्बा लक्ष्मण भुजेलले जनाकारी दिनु भयो । उहाँले दुवै पक्षलाई राखी छलफल गराइने बताउनु भयो ।