INSEC Online

📅 २०८३ जेष्ठ २१

रगत नपाउँदा दैनिक बिरामीको ज्यान जोखिममा

आवश्यकता अनुसारको रगत नपाउँदा यहाँ दैनिक बिरामीको ज्यान जोखिममा पर्ने गरेको छ । रगत नपाए भक्तपुर जानु भन्ने नेपाल रेडक्रस सोसाइटी भक्तपुरको नारा अचेल जोगाउनै सास्ती परेको छ ।

भक्तपुरमै जटिल रोगको उपचार हुने अस्पतालहरूमध्ये शहीद धर्मभक्त अङ्ग प्रत्यारोपण केन्द्र, भक्तपुर क्यान्सर अस्पतालबाट मात्रै दैनिक बिरामीहरू रगत लिनका लागि रेडक्रस भक्तपुरको रक्तसञ्चार केन्द्रमा भौतारिनेको ताँती नै लाग्ने गरेको छ ।

त्यसमाथि पनि भक्तपुरकै जिल्ला अस्पताल र निजी अस्पतालहरूबाट थप रगत लिन आउने बिरामी मात्रै नभई उपत्यका र बाहिरी जिल्लाबाट आपतकालिन रूपमा रगत लिनका लागि आउने बिरामीहरू भनेजति रगत नपाउँदा बिरामीको ज्यान नै जोखिम पर्ने गरेको बताउँछन् ।

नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र भक्तपुरमा धरानदेखि रगत लिन आउनुभएका दीपक थापाले रगत नपाएर राजधानीमा भौँतारिनु पर्दा बिरामीको ज्यान नै जोखिममा परेको बताउनुभयो ।

क्यान्सरका बिरामी काकाका लागि ६ पिन्ट रगत लिन प्लेन चढेर आएको बताउँदै उहाँले रक्त सञ्चार केन्द्र काठमाडौँमा एक पिन्ट मात्रै रगत पाएपछि थप रगतका लागि भक्तपुर आएको सुनाउनुभयो ।

यहाँ पनि दुई पिन्ट रगत मात्रै पाएको बताउँदै रगत खोज्दाखोज्दै बिरामीको ज्यान जाने जोखिम बढेको उहाँको गुनासो छ ।

भक्तपुरमा रगत लिन आएका अधिकांश बिरामीका आफन्तले रगतका लागि भौतारिँदाभौतारिँदै रगत नपाएरै बिरामीको ज्यान जाने अवस्था आउने गरेको बताउँछन् ।

वीर अस्पतालबाट रगत लिन आउनुभएका राम कार्कीले तत्काल शल्यक्रिया गर्न रगत माग भएपछि काठमाडौँमा नपाएर भक्तपुर आएको बताउनुभयो ।

भक्तपुरमा पनि रगत नभएको तर शल्यक्रिया गर्न अत्यावश्यक पर्‍यो भनेपछि रेडक्रसले दुईजना दातालाई बोलाएर रगत झिकेर पठाए पनि अझै दुई पिन्ट रगत नपुगेकाले दाताको खोजी गरिरहेको उहाँको भनाइ छ ।

ताजा रगत लिनका लागि रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र भक्तपुर आउने अधिकांश बिरामीका आफन्तहरूले रगतको खोजी गर्दागर्दै बिरामीको ज्यान जाने गरेको सुनेको बताउँदै रगत नपाउँदा अत्यास लागेको बताउने गरेका छन् ।

नेपाल रेडक्रस सोसाईटी भक्तपुर जिल्ला शाखाका सभापति मनोजकुमार थापाले रगतको अभाव हुँदा बिरामीको ज्यान जोखिममा पर्ने गरेको स्वीकार गर्नुभयो ।

माग अनुसारको रगत दिन नसके पनि भक्तपुर आउनेहरूलाई रित्तो हात भने नफर्काएको उहाँको दावी छ ।

अहिले दैनिक कम्तीमा २ सय ५० पिन्ट रगतको माग भएपनि १ सय ९० पिन्ट रगत भने वितरण गर्दै आएको सभापति थापाले बताउनुभयो ।

सभापति थापाले भन्नुभयो–‘रगतको माग अत्यधिक छ । माग अनुसारको रगत दिन सकेका छैनौँ । दिनमा २ सय ५० पिन्ट रगतको माग भइरहेको छ । भक्तपुरले १ सय ९० पिन्टसम्म दिएको छ । भक्तपुर आएकालाई रित्तो हात फर्काएका छैनौँ । ३ पिन्ट माग्नेलाई २ पिन्ट मात्रै भएपनि वितरण भने गरिरहेका छौँ ।”

अत्यावश्यक र आपतकालिन अवस्थाका बिरामीका हकमा भने अभिलेखमा रहेका रक्तदाताहरूलाई तत्काल बोलाएर रक्तदान गर्न लगाई रगत दिएर पठाउने गरेको थापाको भनाइ छ ।

रक्तदान कम हुने, दुर्घटनाका घाइते र अन्य बिरामीको सङ्ख्या बढ्ने भएकाले रगतको अभाव चुलिएको बताउँदै उहाँले दैनिक रक्तदान कार्यक्रम राख्दा पनि रगतको माग पुरा गर्न नसकेको बताउनुभयो ।

रेडक्रस भक्तपुरले सिन्धुपाल्चोक, दोलखा, काभ्रेपलाञ्चोक, रामेछापमा पनि नियमित रक्तदान कार्यक्रम गर्ने गरी कार्य अगाडि बढाएको रेडक्रस भक्तपुरले जनाएको छ ।

भक्तपुरमा रगत लिन प्लेन चढेर उपत्यका बाहिरबाट समेत बिरामीका आफन्त आउने गरेको बताउँदै सभापति थापाले रक्तदान गरेर बिरामीको ज्यान जोखिममा पार्नबाट जोगाउन सर्वसाधारणलाई आग्रह गर्नुभयो ।

अन्य

भिडियो