INSEC Online

📅 २०८३ जेष्ठ २२

डाक्टर नुहँदा भक्तपुर अस्पतालमा सेवा प्रभावित, निमित्तको भरमा अस्पताल

वीर अस्पताल पछिको दोस्रो पुरानो अस्पतालका रूपमा रहेको १ सय १५ वर्ष पुरानो भक्तपुर अस्पतालमा यतिखेर दरबन्दी अनुसारको डाक्टर नहुँदा सेवा प्रभावित भएको छ ।

सुरूमा केन्द्रीय अस्पताल भनिए पनि हाल प्रदेश अस्पतालको रूपमा रहेको यो अस्पताल राणा प्रधानमन्त्री चन्द्रशम्शेरको पालामा वि.सं. १९६१ असार १७ गतेदेखि ‘चन्द्रलोक डिस्पेन्सरी’ नामबाट सञ्चालनमा आएको बीर अस्पताल पछिको दोश्रो पुरानो अस्पताल हो ।

दैनिक ५ सयभन्दा बढी बिरामी आउने ७५ शैयाको भक्तपुर अस्पतालमा दरबन्दीका नौ जना डाक्टर अझै पनि नहुँदा सेवामा समस्या आएको अस्पताल विकास समितिका अध्यक्ष मिलन सुवालले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयोे–‘समायोजनका क्रममा सरूवा भएर गएका कारणले अस्पतालमा दरबन्दी खाली भएको हो । अब केही दिनमै डाक्टरहरू आउने जानकारी पाएका छौँ । विकास समितिले नियुक्त गरेका केही छन्, त्यसले धान्न सकिएको छैन । तलब खुवाउनै धौधौ छ ।’

अहिले निमित्ति प्रमुखको भरमा चलेको यो अस्पतालमा हाल करार र सरकारी छात्रवृत्तिमा पढेकासहित सात जना डाक्टरका भरमा सेवा सञ्चालन भइरहेको छ ।

उपचारमा आउने बिरामीहरू डाक्टर नभएपछि फर्कने गरेको बताउँछन् । उपचारका लागि आउँदा डाक्टर पनि नभएको र ल्याब सेवा समेत बाहिर जानु पर्ने बाध्यता आएपछि फर्केर निजी अस्पताल जानु परेको चाँगुनारायण नगरपालिका–९ ताथलीका परासर कार्कीले बताउनुभयो ।

अस्पताल विकास समितिले अर्थोपेडिक सर्जन डा.मधु पाण्डे, गाइनोकोलोजिस्ट डा.रञ्जना यादव र रेडियोलोजिस्ट डा.अविनाश कस्यपलाई नियुक्त गरेको छ ।

छात्रावृत्ति करारमा सर्जन डा.रन्जिस पहारी र फिजिसियन डा.देवेन्द्र भट्टराई हुनुहुन्छ ।  प्रदेश ३ सरकारले करारमा एनेस्थेसियोलोजिस्ट डा.निर्मला श्रेष्ठ र यौन तथा छाला रोग विशेषज्ञ डा.रोसिना पौडेललाई नियुक्त गरेको छ ।

समितिका अध्यक्ष मिलन सुवालले अस्पतालमा डाक्टर नभएकोबारेमा स्वास्थ्य मन्त्रालयलाई पटक पटक जानकारी गराएको बताउनुभयो ।

दरबन्दीका १० मध्ये अहिले प्रसूति रोग विशेषज्ञ एक जना मात्रै विशेषज्ञ चिकित्सकको रूपमा रहेको र अन्य दरबन्दीमा रहेका डाक्टरहरू समयोजनका क्रममा सङ्घ, प्रदेश र स्थानीय तहमा गएपछि अस्पतालमा सेवा प्रभावित भएको अस्पताल व्यबस्थापन समितिका अध्यक्ष सुवालले बताउनुभयो ।

अस्पतालमा यसअघि एघारौँ तहको मेडिकल सुपरिटेण्डेण्ट हुने व्यवस्था भएपनि अहिले आठौँ तहकी मेडिकल अफिसर डा. करुणा बज्राचार्यले निमित्त सुपरिटेण्डेण्टको रूपमा अस्पतालको नेतृत्व गर्नुभएको छ ।

समायोजन पछि दुई महिनादेखि अस्पतालको नाक, कान घाँटीको ओपिडी सेवा बन्द भएको छ भने अन्य रोगको ओपिडी करार र सरकारी छात्रवृत्तिमा पढेका डाक्टरको भरमा चलेको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा.करुणा बज्राचार्यले बताउनुभयो ।

यस अस्पतालमा नवौँ र दसौँ तहका १० कन्सल्टेण्ट डाक्टरको दरबन्दी छ । समायोजनका क्रममा  प्याथोलोजिस्ट डा.लिसा गौचन ट्रमा सेन्टरमा, अर्थोपेडिक सर्जन डा.सुदीप खनाल वीर अस्पतालमा, एनेस्थेसियोलोजिस्ट डा.सरिता श्रेष्ठ, वीर अस्पतालमा, बालरोग विशेषज्ञ डा.शान्ति श्रेष्ठ प्रसूतिगृह थापाथलीमा, रेडियोलोजिस्ट डा.हरि ओम जोशी कान्ति बाल अस्पतालमा र छालारोग विशेषज्ञ डा.उमा गिरी वीर अस्पतालमा सरुवा भएपछि भक्तपुर अस्पतालमा दरबन्दी अनुसारका चिकित्सकको अभाव भएको हो ।

गाइनोकोलोजिस्ट डा.अतित पौडेलको स्वास्थ्य सेवा विभागमा पदस्थापन भएपछि उनको ठाउँमा डा.सुमित्रा गौतम आउनुभएको छ ।

अस्पतालमा विशेषज्ञ चिकित्सक र मेडिकल अफिसर मात्रै होइन, नर्सको समेत अभाव छ । दरबन्दीका १९ स्टाफ नर्समध्ये १२ जना मात्रै कार्यरत छन् ।

अन्य

भिडियो