राष्ट्रिय मानव अधिकार आयोगले स्वास्थ्य क्षेत्रको माग राखी अनसनमा बसेका डा. गोविन्द केसीको जीवन रक्षाका लागि सार्थक वार्ताका माध्यामबाट समस्याको समाधान गर्न सरकारसँग आग्रह गरेको छ ।
आयोगले मङ्सिर १३ गते जारी गरेको प्रेस विज्ञप्तिमा विरोधको स्वरुप जस्तोसुकै भए पनि डा. केसीको स्वास्थ्योपचार जीवनको अधिकारसँग जोडिएकाले निजको जीवन रक्षाप्रति सम्वेदनशील हुन सरकारको ध्यानाकर्षण भएको जनाइएको छ । आयोगले डा केसीसँग वार्ता र सम्वादबाटै समस्याको समाधानको खोजी गरी यसप्रकारको घटनालाई पुनरावृत्ति हुन नदिनसमेत सरकारलाई आग्रह गरेको छ ।
पटक-पटकको अनशनका कारण केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको, मुटुको चाल घटबढ भएको, रोग प्रतिरोधात्मक क्षमता कमजोर बन्दै गएको आयोगको अनुगमनका क्रममा बुझिएको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ-‘सरकारी अस्पतालका भवन तथा उपचारका उपकरण जीर्ण बन्दै गएको, पिउने पानीको अभाव, फोहरको सही व्यवस्थापन नहुँदा अस्पताल क्षेत्रमा दुर्गन्ध फैलिने लगायतका समस्या देखिएको छ ।’ अस्पतालमा स्वच्छ पिउने पानी, खाना, शौचालयलगायतका भौतिक सामग्रीको उपलब्धता र गुणस्तरीय स्वास्थ्य सेवाको व्यवस्था गर्नसमेत आयोगले नेपाल सरकारलाई आग्रह गरेको छ ।