अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी र राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको संयुक्त आयोजनामा मङ्सिर २३ गते मानव अधिकार रक्षकको अधिकार, प्रवर्धन, सुरक्षा तथा वर्तमान अवस्था विषयक दुई दिने कार्यशाला गोष्ठी धनगढीमा सम्पन्न गरिएको छ ।
मानव अधिकार सहकार्यसम्बन्धी मार्ग निर्देशिका, २०६९ अनुसार मानव अधिकार रक्षकको सम्बर्द्धन र सुरक्षा सुनिश्चित गर्दै मानव अधिकार, विकास र समाजिक न्यायप्रति सरोकार र प्रतिबद्धतासहित मानव अधिकार रक्षकहरूको प्रदेशस्तरीय साझा सञ्जालले पाँच बुदे घोषणा पत्रसमेत जारी गरेको छ ।
सुदुरपश्चिम प्रदेशका नौ ओटै जिल्लाबाट प्रतिनिधित्व रहेको दुई दिने कार्याशाला गोष्ठीमा मानव अधिकारको अवधारणा, विकासक्रम, मानव अधिकार रक्षकका अधिकार र कर्तव्य, मानव अधिकार रक्षकका लागि निर्माण गरिएको निर्देशिका, मानव अधिकार अनुगमन र प्रलेखिकरण लगायतका विषयमा छलफल गरिएको थियो ।
कार्यशाला गोष्ठीको सहजीकरण राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालयका प्रमुख झङ्करबहादुर रावल, इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय,धनगढीका संयोजक खड्कराज जोशी, प्रलेख अधिकृत कृष्णबहादुर विश्वकर्मा र परियोजना संयोजक सरिता पुरीले गर्नु भएको थियो ।
कञ्चनपुर जिल्लाबाट कार्यशाला गोष्ठीमा सहभागी हुनु भएकी मञ्जु बमले कार्यशाला गोष्ठी उपलब्धिमूलक रहेको बताउँदै राज्यलाई नागरिकहरूका आधारभुत अधिकारको प्रत्याभुत गर्न लगाउनका लागि मानव अधिकारकर्मीहरूले हातेमालो गर्दै साझा अभियान सञ्चान गर्न आवश्यक रहेको बताउनु भयो ।
बैतडी जिल्लाबाट गोष्ठीमा सहभागी हुनु भएकी निर्मला तेरले दुई दिनसम्म सिकेका विषयवस्तुहरूका बारेमा जिल्लामा गएर कार्यान्वयन गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो ।
बझाङ जिल्लाबाट सहभागी हुनु भएका विरेन्द्र खडकाले गोष्ठीमा सिकेका विषयवस्तुहरूलाई आआफ्नो जिल्लामा आवश्यकता अनुसार प्रयोग गर्न आवश्यक भएको बताउँदै सबैको प्रयत्नबाट मानव अधिकारको अवस्थामा सुधार ल्याउन सकिने धारणा राख्नु भएको थियो ।
सुदूरपश्चिम प्रदेशका नौ ओटै जिल्लाको प्रतिनिधित्व रहने गरी निर्माण गरिएको सुदूरपश्चिम प्रदेशस्तरीय मानव अधिकार रक्षक सञ्जालका संयोजक टङ्क ढुङ्गानाले इन्सेकले आयोजना गरेको दुई दिने कार्यशाला गोष्ठीले आफुहरूलाई मानव अधिकारको संरक्षण र सम्बर्द्धन गर्नका लागि थप उत्प्रेरित गरेको बताउँदै मानव अधिकार रक्षक सञ्जालका सम्पुर्ण पदाधिकारीहरूलाई आआफ्नो जिल्लामा सक्रिय भएर लाग्नसमेत अनुरोध गर्नु भएको थियो ।








