INSEC Online

📅 २०८३ जेष्ठ २१

मैनबत्ती बालेर मनाइयो ‘मर्यादित महिनावारी दिवस’

मैनबत्ती झैँ सबैको घरमा समानताको उज्यालो फैलियोस र महिनावारीबारे जनचेतना जागोस भनेर लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियानको अवसरमा मङ्सिर २२ गते साँझ राजविराजमा दीप प्रज्वलन कार्यक्रम गरिएको छ ।

लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान मूल समारोह समितिको आयोजना र महिला मानव अधिकार रक्षक सञ्जाल सप्तरीको संयोजनमा गरिएको कार्यक्रममा सहभागीहरूले राजविराज नपा–७ स्थित गजेन्द्र चोकमा दीप प्रज्वलन गरी मर्यादित महिनावारी दिवस मनाएका हुन् ।

कार्यक्रमका इन्सेक प्रतिनिधि मनोहरकुमार पोखरेलले महिनावारी भएपछि मात्र प्रजनन् प्रकृया सुरू हुने र सृष्टि चल्ने भएकाले महिनावारीबारे समाजमा रहेका सबैखाले हिंसा रोकथाम गर्नुपर्ने र महिनावारीलाई मानव अधिकारको साझा सवालसँग जोडेर हेर्नु पर्ने बताउनुभयो ।

महिला मानव अधिकार रक्षक सञ्जाल सप्तरीकी अध्यक्ष अनिता देवकोटा, प्रहरी इन्स्पेक्टर सन्तोष खडका, अधिवक्ता मनु खनाललगायतले महिनावारी प्राकृतिक र सामान्य शारीरिक अवस्था भएकाले यसलाई स्वस्थ्यसँग जोडेर हेर्नुपर्ने बताउनुभएको छ ।

लैङ्गिक हिंसाविरूद्धको १६ दिने अभियानको अवसर पारेर डिसेम्बर ८ लाई मर्यादित महिनावारी दिवसको रूपमा विश्वमै पहिलो पटक मनाइएको हो ।

आजको दिन (डिसेम्बर ८) लाई ‘मर्यादित महिनावारी दिवस’का रूपमा घोषणा गरी संसारभर मनाउनका लागि सरकारले संयुक्त राष्ट्र संघलाई आग्रह गर्ने प्रतिवद्धता जनाएको छ ।

महिनावारीबारे जनचेतना जगाउँदै आएको राधा पौडेल फाउण्डेशनको अग्रसरतामा मर्यादित महिनावारी दिवस ६ ओटा प्रदेशको १२ ओटा जिल्लामा मनाइएको र विदेशमा समेत मनाइएको फाउण्डेशनले जनाएको छ ।

लैङ्गिक हिंसाको जड नै समाज भएकाले समाज परिवर्तनका लागि यस्ता दिवस आवश्यक भएको मर्यादित महिनावारीकी अभियानकर्मी राधा पौडेलको तर्क छ ।

photo20191209saptari (7)

photo20191209saptari (6)

photo20191209saptari (5)

photo20191209saptari (4)

photo20191209saptari (3)

photo20191209saptari (2)

photo20191209saptari (1)

अन्य

भिडियो