७१ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस (१० डिसेम्बर २०१९) को सन्दर्भमा आयोजित तीन दिवसीय कार्यक्रममा गण्डकी प्रदेश मानव अधिकार महाभेला ०७६ को पहिलो दिन उद्घाटन समारोहमा रक्तदान कार्यक्रम गरेर मनाइएको छ ।
कार्यक्रमको उद्घाटनका क्रममा अन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले मानव अधिकार भनेको मानव मर्यादा भएको बताउनुभएको छ । उहाँले मानव अधिकारको संरक्षण गर्ने दायित्व राज्यको भएको बताउनुभएकाे छ ।
‘सत्ताले मानव अधिकार हनन् गर्छ । हामी सबैले मानव अधिकारको सम्मान गर्न सिकौँ । मानव अधिकारको सवालमा सरकारले बजेटको व्यवस्थापनि गरेको छ । युवाहरूको सहभागितासँगै बढाएर जाने र यसको लागि सबैबाट पहल हुन जरुरी छ ।’–उहाँले भन्नुभयो ।
कार्यक्रममा बोल्दै एम्नेष्टी इन्टरनेशनल कास्कीका संयोजक रमेशप्रसाद बरालले एसिडको खुलेआम विक्री वितरणलाई नियमन गर्नुपर्ने बताउनुभयो ।
जिल्ला समन्वय समिति प्रमुख बैनबहादुर क्षेत्रीले दिगो विकासका लक्ष्यहरूले पनि मानव अधिकारको सवाललाई छोएको बताउनुभयो । सो अवसरमा २० जनाले रक्तदान गर्नुभएको थियो ।