स्थानीय तह पुनः संरचनाको खाका आयोगमा पठाउने क्रममा दिक्तेल नामले परिचित दिक्तेल नगरपालिकाको नाम हटाएको आरोपमा खोटाङका ज्येष्ठ नागरिक आन्दोलित भएका छन् ।

परापूर्वकालदेखि परिचित दिक्तेलको नाम हटाएर पुनः संरचना गर्ने नाममा रूपाकोट मझुवागढी नगरपालिका बनाइएको भन्दै उनीहरू आन्दोलित भएका हुन् ।
ऐतिहासिक तथा पुरानो नाम दिक्तेललाई समेटेर दिक्तेल मझुवागढी रूपाकोट तथा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका बनाइनुपर्ने माग राख्दै उनीहरूले स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समितिका संयोजक तथा स्थानीय विकास अधिकारी निश्चलराज पाण्डेलाई ज्ञापन पत्रसमेत बुझाएका छन् ।
नाराजुलुस सहित बजार परिक्रमा गरेपछि मङ्सिर १२ गते जिल्ला विकास समितिमा पुगेर ज्ञापन पत्र बुझाउँदै उनीहरूले आफ्नो माग पूरा नभए चरणवद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
उनीहरूले प्राविधिक सहयोग समितिलाई बुझाएको ज्ञापन पत्र बोधार्थका रूपमा जिल्लास्थित सबै राजनीतिक दल तथा प्रमुख जिल्ला अधिकारीलाईसमेत बुझाएका छन् ।
राई जातिको मामालाई दिकु भनिने हुँदा ऐतिहासिक नामले परिचत दिक्तेलको नाम हटाउन नहुने उनीहरूले बताएका छन् ।
हाल कार्यान्वयमा रहेको दिक्तेल नगररपालिका-२, कोलेबारीमा दिकुले तेल पेल्ने कोल रहेको र दिकुको तेलबाट दिक्तेल नाम रहन गएको आन्दोलनमा सहभागी ज्येष्ठ नागरिक दुर्गा घिमिरेले बताए ।
‘हामीले चेतावनी स्वरूप ज्ञापनपत्र बुझाएका हौं ।’-उनले भने-‘यदि माग पूरा नभए कडाभन्दा कडा आन्दोलन हुन्छ । त्यसबाट हुने क्षतिको जिम्मेवारी राज्यले लिनुपर्छ ।’