दार्चुला जिल्लामा अपाङग दिवस मनाइरहँदा यहाँका अपाङ्गता भएका दर्जनौँ व्यक्तिहरूले आधारभुत अधिकारकोसमेत सुनिश्चितता हुन नसकेको गुनसो गरेका छन् ।
‘म पढ्न चाहन्छु । मलाई पढाइ दिनुहोस् । मैले दुई ओटै आँखा देख्न सक्दिन । तर, पढ्ने रहर छ ।’–महाकाली नगरपालिका– १ छापरीका १३ वर्षीया बालिका मेनुका टमटाले भन्नुभयो ।
जन्मजात दृष्टिविहीन टमटाले सदरमुकाम खलङ्गामा आयोजित २८ औँ अपाङ्ग दिवसमा सो कुरा बताउनुभएको हो ।
लेकम गाउँपालिका–४ खरकडाका दृष्टिविहीन गणेश गिरीले अपाङ्गता भएका व्यक्तिलाई अहिलेसम्म ‘विचरा’ को रूपमा मात्र हेरिएको कारण पढ्न नपाएको बताउनुभयो ।
‘हामीलाई विचरा नभन्नुहोस् । अवसर दिनुहोस् । हामी पनि केही गर्न सक्छौँ ।’–उहाँले भन्नुभयो–‘शारीरिक अपाङ्गता भएका दृष्टिविहीनहरूले पनि पढ्न सक्छन् । मैले पढेँ । अहिले शिक्षक छु । म अहिले सपाङ्गता भएका व्यक्ति सरह काम गर्छु । उस्तै पढाउँछु । पढ्न नसकेकाहरूलाई विद्यालय पठाउन लागौँ ।’
दार्चुलामा फरक क्षमता भएका व्यक्ति पढ्नको लागि विद्यालय नहुँदा यहाँका अपाङ्गता भएका व्यक्तिहरू धनगढी र महेन्द्रनगर जानु पर्ने भएकोले पनि समस्या भएकोले सरकारले अपाङ्ता भएका व्यक्तिहरूलाई सहज हुने गरी विद्यालय सञ्चालन गर्न समेत अपाङ्ता भएका व्यक्तिहरूको माग रहेको छ ।
मालिकार्जुन गाउँपालिका–४ का १३ वर्षीया सरस्वती धामी दृष्टिविहीन हुनुहुन्छ । कक्षा ३ सम्म विद्यालय जानु भएकी धामीको पढ्दा पढ्दै ब्रेन ट्युमर भएर आँखाको ज्योती गुमाएपछि उहाँ पनि अहिले विद्यालय जानबाट वञ्चित हुनु भएको छ ।
‘छोरीको उपचारको लागि भारतको नयाँ दिल्लीदेखि नेपालका ठूला अस्पतालसम्म धाउँदाधाउँदा भएको जमीन बेचिसकेँ ।’–सरस्वतीका बाबु भवानसिंह धामीले भन्नुभयो–‘छोरीको आँखाको ज्योति फर्काउन सकेनन् । आफूसँग भएको सम्पत्ति नै सकिएपछि अहिले उपचार नगराएरै घरमा राख्नुपरेको छ ।’
मालिकार्जुन गाउँपालिका–६ का टिकेन्द्र तिरूवा आठ वर्ष भएपछि शारीरिक अपाङ्गता हुनुभयो । आधारभूत तहसम्म गाउँकै विद्यालयमा अध्ययन गर्नुभएका तिरूवाले माथिल्लो कक्षा पढ्न विद्यालय जान सक्नुभएन ।
तिरुवाको ढाडले काम गर्दैन । जसको कारण तिरूवाले दुवै हातखुट्टाको सहारामा यताउती हिँड्नुपर्छ । कम्मरमा देखिएको चोट उपचार गराउँदा पनि निको भएपछि अहिले अपाङ्गता भएर बस्नु परेको छ ।
अपाङ्गमैत्री पूर्वाधार नहुनु र फरक क्षमता भएका बालबालिकाको लागि विद्यालय नहुँदा जिल्लामा कयौं बालबालिकाले पढ्न पाएका छैनन् । उनीहरु शिक्षा पाउनुपर्ने नैसर्गिक अधिकारबाट वञ्चित भएका छन् ।
दृष्टिविहिन शिक्षक गणेश गिरी जिल्लामा अपाङ्ग मैत्री भौतिक पूर्वाधार नहुँदा जिल्लाभरीका अपाङ्गता भएका व्यक्तिले समस्या झेल्नु परेको बताउनुहुन्छ ।
उहाँले थप भन्नुभयो–‘शैक्षिक संस्थाहरू अपाङ्गमैत्री छैनन् । म आफैँ शिक्षक हुँ। तर, मैले पढाउने पाठ्यक्रमहरू अपाङ्गमैत्री छैनन् । भवन तथा शौचालयहरू अपाङ्गमैत्री भएनन् । कानुनमा सबै अधिकार लेखिए । तर, हामीले पाएका छैनौँ । अपाङ्गता भएका व्यक्तिहरुको लागि कानुन बन्यो । तर, कार्यान्वयन अझै हुन सकेन् ।’
जिल्ला अपाङ्ग सङ्घका अध्यक्ष कमलसिंह धामीले सबै स्थानीय तहले अपाङ्गता भएकाहरूका लागि बजेट समेत नछुट्याएका कारण अपाङ्गता भएका व्यक्तिहरू विभिन्न प्रकारका सेवा सुविधाबाट वञ्चित हुनु परेको बताउँदै सरकारले सहयोग गर्नु पर्नेमा जोड दिनुभयो ।
महाकाली नगरपालिका प्रमुख हंशराज भट्टले दृष्टिविहीन भएका बालबालिकालाई पढाउन नगरपालिकाले सहयोग गर्ने बताउँदै नगरपालिकाले अपाङ्गता, बालबालिका र महिला लक्षित अन्तर्गत १५ लाख रुपियाँ बजेट विनियोजन गरेको भए पनि उचित प्रस्ताव नआउँदा कार्यान्वयनमा नआएको बताउनु भयो ।
उहाँले भन्नु भयो–‘अहिले नै जिल्लामा विद्यालय खोल्न सम्भव नहोला । तर, बाहिर पठाएर भएपनि फरक क्षमता भएका बालबालिकाको पढाइ गराउन तयार छाैँ। नगर बसमा क र ख श्रेणीका अपाङ्गता भएकालाई निःशुल्क तथा ग र घ श्रेणीका अपाङ्गता भएकाहरूलाई ५० प्रतिशत छुट दिएका छौँ ।’
जिल्ला अपाङ्ग सङ्घ, दार्चुलाका अनुसार दार्चुला जिल्लामा दृष्टिविहीन अपाङ्गता भएका व्यक्ति ६६ जना रहेका छन् भने जिल्लाभरी झण्डै २ हजार जनाको हाराहारीमा अपाङ्गता भएका व्यक्ति रहेका छन् ।