राष्ट्रिय मानव अधिकार आयोगले अपाङ्गमैत्री वातावरण निर्माण गर्न आग्रह गरेको छ ।
गत वर्ष सातै प्रदेश तथा केन्द्रमा यस विषयमा गोष्ठी, अन्तरक्रिया र सम्मेलन समेत गरी तीनै तहका सरकार, अन्तर्राष्ट्रिय समुदाय, सम्बन्धित सङ्घसंस्था र आम सञ्चार माध्यमलाई विभिन्न सिफारिश गरिएको जनाउँदै आयोगले यस्तो आग्रह गरेको हो ।
‘नेपाल अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी महासन्धि, २००६ को सन् २०१० मा पक्ष राष्ट्र भइसकेको हुँदा ती महासन्धिका प्रावधान अनुशरण गर्ने कर्तव्यबाट हामी विमुख हुन सक्दैनौँ । नेपालको संविधान तथा ऐन, कानूनहरुले समेत अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सुनिश्चित गरेको छ ।’–आयोगले मङ्सिर १७ गते जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
आयोगले अपाङ्गता भएका व्यक्तिहरूको मानव अधिकारका प्रश्नमा अभैm समस्यामा रहिरहनु उपयुक्त नभएको विषयमा सङ्घीय, प्रदेश तथा स्थानीय तहका सरकारलगायत सम्बन्धित सबैको ध्यानाकर्षण गराएको छ ।
विश्वले हरेक वर्ष ३ डिसेम्बरको दिनलाई अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको रूपमा मनाउँदै आएको छ ।