शान्तिनगर गाउँपालिका–२ का ५२ वर्षीय पदमबहादुर वली र उहाँकी ४५ वर्षीय पत्नी जयन्ता वलीलाई मङ्सिर १४ गते भएको उप निर्वाचनमा नेपाली कांग्रेसलाई मत नदिएर नेकपालाई मतदान गरेको आरोपमा शान्तिनगर गाउँपालिकाका अध्यक्ष शान्तिनगर गापा–२ का ६३ वर्षीय कमानसिङ डाँगी र ३८ वर्षीय छोरा विरज डाँगीले कुटपिट गरेको पीडित पक्षको आरोप छ ।
कुटपिट घटनाका आरोपित विरूद्ध पीडित पक्षले मङसिर १५ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिएको हो ।
मङ्सिर १४ गते भएको उपनिर्वाचनमा नेकपालाई मतदान गरेको भन्दै राति घरमै गएर अध्यक्ष डाँगीले कुटपिट गरेको पीडित पदमबहादुरले आरोप लगाउनुभएको छ ।
कुटपिटबाट टाउको, आँखा र शरीरका विभिन्न अङ्गमा चोट लागेका दम्पतिको उपचार राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मङ्सिर १५ गते उपचार भएको छ ।
उजुरी दिँदासमेत प्रहरीले आरोपितमाथि कुनै कारवाही नगरेको भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) शान्तिनगर गाउँपालिका–२ वडा कमिटीका अध्यक्ष खुमबहादुर वलीले मङ्सिर १५ गते विज्ञप्ति निकालेर दोषीमाथि कारवाहीको माग गर्नुभएको छ ।
नागरिकलाई गोप्य मत दिने अधिकार रहेको भन्दै कुटपिट गर्नेमाथि कारवाहीको माग गर्दै उजुरी परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी हरिहरनाथ योगीले बतउनु भयो ।
उहाँले मादक पदार्थ सेवन गरी चुनावी विषयलाई लिएर हातपात गरिएको भन्दै घटनाको अनुसन्धान थालिएको बताउनुभयो ।
आरोपित कमानसिङ डाँगीले समान्य मादक पदार्थ सेवन गरी होहल्ला गरेको भएर घरसम्म छोडेको र छोराले धकेलेको भए पनि कुटपिट नगरेको बताउनु भयो ।