INSEC Online

📅 २०८३ जेष्ठ २१

गोप्य मतदान गर्ने अधिकार हनन् हुने भन्दै मतदानस्थलको सिसि क्यामेरा हटाउन निर्देशन

निर्वाचनमा गोप्य मतदान गर्न पाउने अधिकार रहेको भन्दै जिल्ला निर्वाचन कार्यलय कास्कीले मतदान स्थलमा राखिएका सिसि क्यामेरा हटाउन निर्देशन दिएको छ ।

उपनिर्वाचनका लागि तोकिएका ३२ ओटै मतदानस्थलमा सिसि क्यामेरा भए नभएको चेकजाँच गरी हटाउन निर्देशन दिइएको जिल्ला निर्वाचन अधिकृत महेन्द्रराज सुवेदीले जानकारी दिनुभयो । ३२ मतदानस्थल मध्ये २८ ओटा विद्यालय र चार ओटा वडा कार्यलय रहेका छन् ।

विद्यालय तथा वडा कार्यलय सुरक्षाका लागि नियमित प्रयोगमा ल्याइएका सिसि क्यामेराहरू मतदान अवधिभर पूर्ण रूपमा बन्द गरिने उहाँले जानकारी दिनु भयो ।

‘पोखरा भ्याली भित्रका केही विद्यालयमा सिसि क्यामेरा छन् भन्ने त थाहा थियो । त्यसैले विद्यालय मात्रै होइन सबै मतदान स्थलमा सिसि क्यामेरा पूर्ण रूपमा बन्द गर्न फोनबाटै निर्देशन दिएका छौँ ।’–उहाँले भन्नुभयो–‘सम्भव भएसम्म हटाउन नत्र पूर्ण रूपमा बन्द गर्न भनेका छौँ ।’

मतदातालाई सिसि क्यामेरा खिच्नेछ भन्दै त्रसित बनाउन सक्ने कुरा मध्यनजर गर्दै कार्यलयले सो निर्देशन दिएको जनाएको छ ।

सुवेदीले मतदान स्थलमा मोवाइल तथा क्यामेरा समेत निषेध गरिएको जानकारी दिनुभयो । मतदान स्थलमा हुन सक्ने सबै सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्थामा समेत कडाइ गरिएको उहाँले बताउनुभयो ।

अन्य

भिडियो