सखुवा प्रसौनी गाउँपालिका–५ महुुवनबाट प्रहरीले निर्वाचन आचारसंहिता विपरीत प्रयोग गरिएका पाँच ओटा सरकारी सवारी साधन मङ्सिर ११ गते नियन्त्रणमा लिएको छ । प्रहरी चौकी महुवनले चार ओटा पल्सर मोटरसाइकल र एउटा स्कुटर नियन्त्रणमा लिएको हो ।
मङ्सिर ११ गते मौन अवधि सुरू हुनुअघि विभिन्न दलले सखुवा प्रसौनी गाउँपालिका–५ मा चुनावी सभा राखेका थिए । चुनावी सभामा जनप्रतिनिधिहरू सरकारी नम्बर प्लेटका सवारी साधन नै चढेर सहभागी भएका थिए ।
प्रहरीले बुधबार साँझ ना १ ब २७४८ नं को स्कुटर, ना १ ब ३०५७, ना १ ब ३५८७, ना १ ब ३१४६, ना १ ब २७५० नं को पल्सर मोटरसाइकल नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिएका सवारी साधनलाई प्रक्रिया पूरा गरेपछि छोडिने प्रहरीले जनाएको छ । तर, सवारी चालक तथा जनप्रतिनिधिको नाम र दलको नाम भने प्रहरीले ‘गोप्य’ राखेको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले निर्वाचन आचारसंहिता विपरीत सवारी साधन प्रयोग गरिएकाले नियन्त्रणमा लिइएको बताउनु भयो ।