INSEC Online

📅 २०८३ जेष्ठ २१

उपनिर्वाचनका लागि सङ्खुवासभाका ११ विद्यालय तीन दिनका लागि बन्द

मकालु गाउँपालिका र खाँदबारी नगरपालिका–३ मा हुने उपनिर्वाचनको लागि मतदान केन्द्र तोकिएका विद्यालयहरू तीन दिनका लागि बन्द भएका छन् ।
उपनिर्वाचनको मतदान केन्द्र तोकिएका मकालु गाउँपालिकाका १० र खाँदबारी नगरपालिका–३ को एउटा विद्यालय मङ्सिर ११ गतेबाट बन्द गरिएको जिल्ला निर्वाचन अधिकारी चोलानाथ दङ्गालले जानकारी दिनुभयो ।
विदाको समयमा विद्यालयमा अन्य कुनै प्रकारका कार्यक्रम समेत आयोजना नगर्न जिल्ला निर्वाचन कार्यालयले जानकारी दिइसकेको छ ।
नेपाल सरकारले आठ वर्ष अगाडि घोषणा गरेको विद्यालय र विद्यार्थी शान्ति क्षेत्र हुन् भन्ने नारा आजसम्म पनि कार्यन्वयनमा आउन सकेको छैन ।
०६८ जेठ ११ गते नेपाल सरकारले विद्यालयलाई शान्ति क्षेत्र घोषणा गर्दै विद्यालयलाई सशस्त्र गतिविधि र अन्य किसिमका हिंसाबाट मुक्त राख्नु, विद्यालयलाई दलगत राजनीति तथा अन्य हस्तक्षेपबाट मुक्त राख्नु र विद्यालयलाई भेदभाव, दुव्र्यवहार, बेवास्ता र शोषणबाट मुक्त राख्नु भनी तीन ओटा मुख्य निर्देशिका जारी गरेको थियो ।
नेपाल पत्रकार महासङ्घ सङ्खुवासभाका अध्यक्ष इन्द्र गिरीले निर्वाचनकै लागि तीन दिन विद्यालय बन्द गरिनुलाई सकारात्मक रूपमा लिन नसकिने बताउनुभयो ।
उपनिर्वाचनका लागि मकालु गाउँपालिकामा १० ओटा मतदानस्थल र खाँदबारी नगरपालिका–३ मा एउटा मतदानस्थल तोकिएको छ ।
सङ्खुवासभामा राजनीतिक दलहरूले विद्यालयमा नै कार्यक्रम समेत गर्दा मकालु गाउँपालिकाका केहि विद्यालय भने यसअघि नै बन्द भइसकेका छन् ।
मकालु गाउँपालिकाका पाँच ओटा विद्यालय भने मङ्सिर ७ गतेबाट नै बन्द रहेको शिक्षा विकास तथा समन्वय एकाई सङ्खुवासभाका प्रमुख केशव भट्टराईले बताउनुभयो ।
यस विषयमा मुख्य निर्वाचन अधिकृत शान्तिप्रसाद आचार्यले निर्वाचन आयोगलाई जानकारी दिइसकेको बताउनु भयो ।

अन्य

भिडियो