जिल्ला कारागार स्याङ्जामा रहेका कैदी बन्दीहरूले शौचालयका साथै खानेपानीको समस्या भोग्दै आएको बतााएका छन् ।
५० जनाको क्षमता भएको जिल्ला कारागामा हाल १ सय ५८ कैदीबन्दी राखिएको छ । क्षमताभन्दा बढी कैदीबन्दी भएकाले समस्या भएको कारागार प्रमुख चुडामणी भण्डारीले बताउनुभयो ।
कारागारमा कैदी जीवन बिताइरहेका प्रकाश रानाले भन्नुभयो–‘यहाँ खानेपानीको समस्या छ ।’ पानी अभावले खान र सरसफाइ गर्न समस्या परेको उहाँको भनाइ छ । रानाले भन्नुभयो–‘शौचालय जानको लागि एक घण्टासम्म पालो कुर्नुपर्छ ।’
बन्दी दिनेश गुरुङले कारागारमा आफूहरूले धेरै समस्या भेग्दै आएको र पानी, शौचालयका साथै सुत्ने ठाउँको अभावले गर्दा पालैपालो सुत्नुपर्ने अवस्था आएको बताउनुभयो ।
कारागार प्रमुख चुडामणी भण्डारीले कारागारको साँघुरो संरचना र कैदीको सङ्ख्या बढी भएकाले विभिन्न प्रकारका समस्या आउने गरेको छ ।
कारागारको अवस्थाका बारेमा सम्बन्धित निकायमा जानकारी गराए पनि समस्याको समाधान हुन नसकेको उहाँको भनाइ छ ।
उहाँले कारागारमा पानी, शौचालयका साथै कैदीबन्दी बिरामी हुदाँ समेत सवारीसाधन अभावमा समयमै उपचारको लागि लैजान समस्या हुने गरेको बताउनुभयो ।
कारागारमा रहेका कैदीबन्दीहरूले बेलाबेलामा अनुगमनको लागि धेरै मानिस आउने गरेपनि आफूहरूको समस्याको समाधान नभएको गुनासो गरेका छन् ।
कारागारमा ३५ जना पुरुष र १० जना महिला गरी ५० जनाको क्षमता भए पनि हाल नौ महिला र १ सय ४९ पुरुष गरी १ सय ५८ जना कैदीबन्दी रहेका छन् ।