निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी सरोकारवालासँग परामर्श गरी निर्वाचन आयोगले स्थानीय तह निर्वाचन आचार–संहिता २०७३ बनाएको छ । तर, सोही आचार–संहिताको उल्लङ्घन उप–निर्वाचनमा सहभागी दलहरूबाट भइरहेको पाइएको छ ।
इन्सेक सङ्खुवासभा जिल्ला प्रतिनिधि बाबुराम बास्तोलाका अनुसार मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि मकालु गाउँपालिकाको अध्यक्ष, खाँदबारी नगरपालिका–३ को वडाध्यक्ष पदको लागि हुने उपनिर्वाचनमा सार्वजनिक पद धारण गरेका व्यक्तिहरूले दलका उम्मेदवारलाई भोट मागेर हिँडिरहेका छन् ।
सार्वजनिक पद धारण गरेका व्यक्तिले दलका उम्मेदवारलाई मत मागे आचारसंहिता विपरीत हुने निर्वाचन आचारसंहितामा उल्लेख छ ।
सङ्खुवासभाको मकालु गाउँपालिकामा राष्ट्रिय सभा विधायन व्यवस्थापन समितिका सभापति पर्शुराम मेघी गुरुङ, प्रतिनिधि सभा सदस्य राजेन्द्रप्रसाद गौतम, प्रदेशसभा सदस्यहरू तुलसी न्यौपाने, सरिता खड्का, पुर्णप्रसाद राईले चुनावी आमसभालाई सम्बोधन गर्दै आउनुभएको छ ।
जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्य, उपप्रमुख अम्विका खवास, खाँदबारी नगरपालिकाका प्रमुख मुरारीप्रसाद खतिवडा, चिचिला गाउँपालिका अध्यक्ष पासाङ शेर्पालगायत पनि चुनाव प्रचारप्रसार कमिटिमा नै रहेर उम्मेदवारलाई भोट मागेर हिँडिरहनु भएको छ ।
मुख्य निर्वाचन अधिकृत शान्तिप्रसाद आचार्यका अनुसार यस विषयमा उजुरी समेत परेको छ । आचार्यले भन्नुभयो–‘सार्वजनिक पद धारण गरेका व्यक्तिले मत मागेको भनेर हाम्रो कार्यालयमा उजुरी आएको थियो । हामीले उजुरीलाई निर्वाचन आयोगमा पठाइसकेका छौँ ।’
उहाँका अनुसार मौखिक रूपमा धेरै उजुरीहरू आए पनि लिखित रूपमा आएको उजुरी भने यो मात्रै हो । अन्य आचारसंहिता उल्लङ्घनका विषयमा आफुहरू गम्भीर रहेको र सुक्ष्म रुपमा अनुमगन गरिरहेको उहाँले बताउनु भयो ।






इन्सेक भोजपुर जिल्ला प्रतिनिधि गणेश विष्टका अनुसार मङ्सिर १४ गते हुन लागेको उपनिर्वाचनको समय नजिकिँदै गर्दा राजनीतिक दलहरूले प्रचारप्रसारलाई तीव्र बनाएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय भोजपुरले स्वच्छ र निश्पक्ष उपनिर्वाचन गराउनका लागि राजनीतिक दल, उम्मेदवार, उम्मेदवारका प्रतिनिधि र सञ्चारकर्मीको सर्वदलीय बैठक राखेर निर्वाचन आचारसंहिताको बारेमा जानकारी समेत गराएको थियो ।
निर्वाचन आचारसंहितामा नेपाल सरकार, स्थानीय तह तथा सार्वजनिक संस्थाले पालना गर्नुपर्ने आचरणमा नेपाल सरकारका मन्त्री वा सार्वजनिक पद धारण गरेका व्यक्तिले कुनै उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्नु हुँदैन भनेर उल्लेख गरिएको छ ।
तर, भोजपुरको पौवादुङमा गाउँपालिका–१ को वडाध्यक्षका लागि हुने उपनिर्वाचनको प्रचार प्रसारमा खटिएका राजनीतिक दल र तिनका प्रतिनिधिले निर्वाचन आचारसंहिताको उल्लङ्घन गरेको पाइएको छ ।
सो वडाको अध्यक्षका लागि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार जीतेन्द्र राईको प्रचारप्रसारमा सङ्घीय सांसद सुदन किराँती, प्रदेश सांसद राजेन्द्र राई, पौवादुङमा गाउँपालिका अध्यक्ष किरण राई, उपाध्यक्ष सम्झना राई लाग्नुभएको छ ।
त्यस्तै नेपाली कांग्रेसबाट उम्मेदवार बन्नुभएका समरबहादुर कार्कीको चुनावी प्रचारप्रसारमा भोजपुर नगरपालिका मेयर कैलाशकुमार आले, भोजपुर नगरपालिका–११ का वडाअध्यक्ष अशोक राई खटिनुभएको छ ।
सार्वजानिक पद धारण गरेको व्यक्तिले चुनावको प्रसार प्रसारमा खटिरहेका भए पनि मुख्य निर्वाचन अधिकृत खिलानाथ रेग्मीले कुनैपनि सार्वजनिक पदमा रहेको व्यक्ति चुनावी प्रचार प्रसारमा खटिएको भन्दै अहिलेसम्म उजुरी नपरेको बताउनुभयो ।
मुख्य निर्वाचन अधिकृत रेग्मीले आचारसंहितामा व्यवस्था भए बमोजिम नै मन्त्री, सांसददेखि वडाध्यक्षसम्म कोही पनि चुनावी प्रचारमा सहभागी हुन नपाइने बताउनुभयो ।
आँखै अगाडि सार्वजनिक पद धारण गरेका व्यक्तिले चुनावी प्रचार गरेको भएपनि उजुरी नआएको भन्दै निर्वाचन कार्यालय पन्छने र उजुरी आइहाले पनि निर्वाचन आयोगमा पठाउने काम मात्रै गर्नुले निर्वाचन कार्यालयको सक्रियतामा प्रश्न उठ्ने गरेको छ ।






