नेपालगञ्ज उपमनपा–१९ स्थित ब्रिटिस इङ्गलिस बोर्डिङ स्कुलमा अध्ययनरत चार वर्षीया बालिका शौचालयमा थुनिएर बेहोस भएको घटनाप्रति मङ्सिर ९ गते मानव अधिकारकर्मीहरूले ध्यानाकर्षण भएको जनाएका छन् ।
विद्यालय सञ्चालन भएको समयमा मङ्सिर ६ गते चार वर्षीया सफलता बजगाई शौचालय भित्र ढोका खोल्न नसकेर चार-पाँच घण्टा लामो समयसम्म शौचालयमा बन्द भएको बालिकाका मामा शरद पाण्डेले बताउनुभयो ।
पाण्डेका अनुसार विद्यालयले टिनको छाना निकालेर बालिकाको उद्धार गरेपछि अस्पताल नलगी बेहोसी अवस्थामा घरमा पुर्याएको थियो । पीडित बालिकाको उपचार नेपालगञ्ज मेडिकल कलेजमा गरेर घर फर्के पनि अन्य चेक जाँच चलिरहेको छ ।
अधिकारकर्मीहरूले ध्यानाकर्षण पत्रमा विद्यालयमा बालबालिकाविरूद्ध हुने कुनैपनि प्रकारका हिंसा, दुर्व्यवहार बाल अधिकारसँग सम्बन्धित राट्रिय तथा अन्तराट्रिय कानुन तथा सन्धि महासन्धिको विरूद्ध हुने भएकाले नियमन गर्ने निकायहरू समेतलाई बाल अधिकारको संरक्षण र प्रवर्धनका लागि गम्भीर हुन आह्वान गरिएको उल्लेख छ ।
राष्ट्रिय मानव अधिकार आयोगका प्रमुख चन्द्रकान्त चापागाई, नेपालगञ्ज उच्च अदालत बारका अध्यक्ष विकास आचार्य, इन्सेक प्रदेश ५ का संयोजक भोला महत, सिविन नेपालगन्जका संयोजक सिद्धराज पनेरुद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा विद्यालय सञ्चालन भएको अवस्थामा भएको उक्त घटना विद्यालय प्रशासनको लापरवाही भएको ठहर गर्दै घटनाको जिम्मेवारी र बालिकाको उपचारको व्यवस्था गर्न आग्रह गरिएको छ ।
