जोरायल गाउँपालिका–१ स्थायी घर भई कैलाली जिल्लाको गोदावरी नगरपालिका–४ मा बस्दै आएका २१ वर्षीय जीप चालक गणेश पालीको मङ्सिर ८ गते गैरास्थित घण्टेश्वर प्रहरी चौकीको हिरासतमा मृत्यु भएको छ ।
जिप चालक पालीले मादक पदार्थ सेवन गरी डडेल्धुराको दाङखेत जाने कच्ची बाटोमा आफूले चलाउँदै आएको से १ ज २९२ नम्बरको जिप राखी अन्य सावरीसाधानलाई अवरोध पुर्याएको भन्ने सूचनाका आधारमा मङ्सिर ८ गते दिउँसो ४ बजे प्रहरीले गिरफ्तार गरी थुनामा राखेको थियो ।
जिल्ला प्रहरी कार्यालय, डोटीका इन्स्पेक्टर सुरेन्द्र बमले भन्नुभयो–‘हामीलाई जानकरी गराए अनुसार गिरफ्तार गरिएका पाली पिसाव गर्न भनेर शौचालयमा जानु भएको रहेछ । शौचालयबाट बाहिर निस्कँदा शौचालयको अगाडि ढल्नु भएछ । प्रहरीले शौचालयमा गएर हेर्दा औषधि सेवन गरेर पाली फर्किएका रहेछन् ।’
जिल्ला प्रहरी कार्यालयका एसपी दिलिपसिंह देउवाले मृतक पाली शौचालयबाट फर्कँदा शौचालय अगाडि नै बेहोस भएपछि उपचारका क्रममा घण्टेश्वर स्वास्थ्य चौकी, गैरामा लगिएको भए पनि स्वास्थ्यकर्मीको सल्लाह अनुसार थप उपचारका लागि उपक्षेत्रीय अस्पताल, डडेल्धुरा लगिरहेको अवस्थामा बाटोमा नै मृत्यु भएको बताउनुभयो ।
उहाँले भन्नु भयो–‘औषधि सेवन गरेका कारण बेहोस भएको भनेर मलाई रिपोर्ट गरिएको छ । मृतक पालीको शव परीक्षणका लागि उपक्षेत्रीय अस्पताल, डडेल्धुरामा राखिएकोे छ । त्यसपछि मात्रै घटनाको वास्तविकता भन्न सकिन्छ ।’
मृतकका परिवारले घटना शङ्कास्पद रहेको भन्दै घण्टेश्वर प्रहरी चौकी, गैरामा धर्ना दिइरहेका र यसका बारेमा छलफल गरी वास्तविकता बुझ्न आफू पनि प्रहरी चौकी, गैरामा आएको जोराएल गाउँपालिकाका उपाध्यक्ष जमुना बोहराले बताउनु भयो ।
मृतक पालीको शव परीक्षणका लागि उपक्षेत्रीय कार्यालय, डडेल्धुरामा राखिएको जिल्ला प्रहरी कार्यालय, डोटीले जनाएको छ ।