INSEC Online

📅 २०८३ जेष्ठ २१

खर्पुनाथ बाहेक अन्य गाउँपालिका व्यक्तिहरूलाई गाउँ प्रवेशमा रोक

जिल्ला प्रशासन कार्यालयमा बसेको सुरक्षा व्यवस्थापन समितिको बैठकले उपनिर्वाचनको प्रचारप्रसार गर्ने समयमा खार्पुनाथ गाउँपालिका भित्र रहेका नागरिक बाहेक अन्य व्यक्तिहरूलाई प्रवेशमा रोक लगाएको छ ।

जिल्ला प्रशासन कार्यालय हुम्लामा मङ्सिर ४ गते बसेको सुरक्षा समितिको बैठकले अन्य कुनै पनि बाहिरका राजनितिक दलका कार्यकर्तालाई गाउँपालिका भित्र प्रवेश गर्न नदिनका लागि सुरक्षा निकायाको टोलि कडाई गरेको छ ।

जिल्लाको खार्पुनाथ गाउँपालिकामा हुनलागेको उपाध्यक्ष पदका लागि मङ्सिर १४ गते हुने उपनिर्वाचनमा खार्पुनाथ गाउँपालिकाका मतादाता बाहेक अन्य ठाउँका नागरिकलाई प्रवेशमा निषेध गर्ने निर्णय गरेको हो ।

जिल्लाका सात ओटा गाउँपालिकामध्ये खार्पुनाथ गाउँपालिका भनेको संवेदनशील क्षेत्र भएकाले चुनावलाई शान्त र मर्यादित बनाउनका लागि जिल्ला सुरक्षा व्यवस्थापन समितिले यस्तो निर्णय गरेको सुरक्षा समितिका अध्यक्ष विनिता भटराईले बताउनुभयो ।

उपनिर्वाचन हुने अवधिभर खार्पुनाथ गाउँपालिकामा अन्य स्थानीय तहका नागरिक र राजनीतिक दलका नेता तथा कार्यकर्तालाई प्रवेशमा निषेध गराउने निर्णय भएको मुख्य निर्वाचन अधिकृत चन्द्रकान्त पौडलले बताउनुभयो ।

यस्तो निर्णयले हुम्लाका अन्य गाउँपालिकामा राजनीतिक दलका नेताहरूलाई प्रचारप्रसारमा जानलाई यतिखेर ठूलो समस्या भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला अध्यक्ष लालकेश जैसीले गुनासो गर्नुभयो ।

उहाँले मङ्सिर ११ गते बेलुका ७ बजे सम्म त प्रचारप्रसार गर्न पाउने व्यवस्था छ तर मतदान केन्द्रको ३ सय टाढा जान नपाउने सर्वविधितै छ ।

‘सो गाउँपालिकामा नेपाली कांग्रेसका केन्द्रिय सदस्य जीवनबहादुर शाहीको स्थायी घर भएकाले र नेपाल कम्युनिष्ट पार्टी नेकपाका सो गाउँमा ठुला नेता नभएपछि काग्रेसका प्रतिनिधिको सिफारिसमा हामीलाई प्रतिबन्ध लगाइएको हो ।’–अध्यक्ष जैसीले आरोप लगाउनुभयो ।

उपनिर्वाचनमा खार्पुनाथ गाउँपालिकामा अन्य नागरिकले प्रवेश गर्दा धाँधली हुने सम्भावना बढी देखिएकाले सुरक्षा निकायले स्थानीय तहमा प्रवेश गर्न निषेध गरिएको प्रजिअको भनाइ छ ।

चुनावी प्रचारप्रसारमा बालबालिकाको प्रयोग नगर्ने, निर्वाचन मौन अवधिभर खार्पुनाथ गाउँपालिकामा मतदाता र निर्वाचन आयोगबाट जारी भएको पास भएका व्यक्ति बाहेक अन्य सम्बन्धित व्यक्हिरूको आवागमनलाई कडाइका साथ निगरानी गरिनेलगायतका निर्णय गरिएको जिल्ला सुरक्षा व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी विनिता भट्टराईले जानकारी दिनुभयो ।

तल्लो भेग क्षेत्रमा रहेका चार ओटा गाउँपालिकाको मुख्य आवतजावत गर्ने बाटो पर्ने भएता पनि निवार्चन सम्पन्न नहुँदासम्म खार्पुनाथ गाउँपालिका प्रवेशमा कडाई गरिएको छ ।

सदरमुकाम सिमकोट पुग्न दक्षिण क्षेत्रका चार ओटा गाउँपालिका सहित मुगु, जुम्ला, बाजुरा जाने मुख्य बाटो नै खार्पुनाथ गाउँपालिका रहेको भएपनि अन्य सर्वसाधरण भने आफ्नो स्वतन्त्रतामा हिँडडुल गर्ने अधिकारबाट वञ्चित भएको सर्केगाड गाउँपालिका–५ का स्थानीय हस्तबहादुर शाहीले गुनासो गर्नुभयो ।

यसले गर्दा जिल्लाका अन्य नागरिकलाई सदरमुकाम पुग्न र सदरमुकामबाट गाउँ जान बन्द भएको छ । खार्पुनाथ गाउँपालिकामा रहेका पाँच ओटा मतदान केन्द्र बटुवाले हिँड्ने मुख्य गोरेटो बाटोभन्दा टाढा रहेता पनि सिङ्गो गाउँपालिका क्षेत्रभर प्रवेश निषेध गर्ने निर्णय भने राम्रो नभएको उज्यालो अनलाइनका जिल्ला सम्वाददाता रमेश ऐडीले बताउनुभयो ।

अन्य

भिडियो