INSEC Online

📅 २०८३ जेष्ठ २१

विद्यालयमा खानेपानीको अभाव हुँदा समस्या

शुभकालिका गाउँपालिका–२ मा रहेको भैरव आधारभूत विद्यालयमा खानेपानीको चरम अभाव भएको छ ।

कक्षा तीनसम्म पठनपाठन गराइने यस विद्यालयमा धारा भएपनि मुहान भत्किएपछि एक वर्षदेखि पानी नआउँदा अध्ययनरत बालबालिका खानेपानीबाट वञ्चित भएका हुन् ।

‘एक वर्ष अघिदेखि धारामा खानेपानी आउँदैन । पानी खान मनलागे पनि समयमा पाइने अवस्था छैन । छुट्टी भएको समयमा घरमा गएर पानी खानुपर्दछ र शौचालयमा पानी नहुँदा खुला दिसा गर्नुपर्ने अवस्था रहेको छ ।’–कक्षा तीनमा अध्ययनरत नौ वर्षीया अन्जु बिकले भन्नुभयो ।

बिकका अनुसार हाललाई घरबाट पानी ल्याउने गरेपनि शौचालय र पिउनका लागि सो पानी पर्याप्त छैन ।

गाउँपालिका तथा सरोकारवाला पक्षले ध्यान नदिँदा खानेपानीको चरम अभाव देखिएको विद्यालयका प्रधानाध्यापक महेन्द्र शाहीको भनाइ छ ।

खानेपानी उपभोक्ता समिति र गाउँपालिकाको लापरवाहीका कारणले विद्यालयमा खानेपानीको समस्या समाधान गर्न नसकिएको शाहीले आरोप लगाउनुभयो ।

कक्षा तीनसम्म पठनपाठन हुने सो विद्यालयमा ८३ जना विद्यार्थी अध्ययनरत रहेका प्रधानाध्यापक शाहीले जानकारी दिनुभयो ।

तत्कालका लागि कार्यालय सहयोगीले टाढाको मुहानबाट ड्रममा पानी बोकेर खानेपानीको समस्या समाधान गर्न भनिएको वडाध्यक्ष मनबहादुर शाहीले बताउनुभयो ।

संविधानको मौलिक हकमा प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइको हक हुनेछ भनी उल्लेख गरेको भएपनि विद्यालयमा अध्ययनरत बालबालिका खानेपानीबाट वञ्चित हुनुपरेको छ ।

Photo20191122Kalikot01

Photo20191122Kalikot02

अन्य

भिडियो