अपाङ्गता भएका विद्यार्थीले पोषणयुक्त खाना नपाएको गुनासो गरेका छन् । यहाँका तीनओटा आवासीय विद्यालयमा बस्दै आएका विद्यार्थीले गुनासो गरेका हुन् ।
जुम्लाका तीनओटा विद्यालयमा अपांगता भएका विद्यार्थीका लागि छात्रावासको व्यवस्था गरिएको छ । जसमा जिल्लाका अपाङ्गता भएका विद्यार्थीहरू बसेर अध्ययन गर्दै आएका छन् ।
नराकोटस्थित भैरव माध्यामिक विद्यालय, अनामनगरस्थित कर्णाली माध्यामिक विद्यालय र महतगाउँस्थित जनता माध्यामिक विद्यालयमा अध्ययनरत अपांगता भएका विद्यार्थीले खानपिनको उचित व्यवस्था नभएको गुनासो गरेका छन् ।
‘छात्रावासमा पोषणयुक्त खाना छैन । जस्तो पायो त्यस्तै खानुपर्छ ।’–जनता माविमा अध्ययनरत बसन्त धितालले भन्नुभयो–‘खानामा हरियो सागपात र मासु खान पाउने व्यवस्था गरिदिनुप¥यो ।’
अपाङ्गता भएका बालबालिका अध्ययनरत विद्यालयमा छात्रावासको व्यवस्था गरिएपछि उनीहरूका लागि सरकारले प्रति विद्यार्थी मासिक ४ हजार रुपियाँ उपलब्ध गराउँदै आएको छ ।
सो रकम अपुग भएको विद्यार्थी र शिक्षकले गुनासो गरेका छन् । ‘एक छाकको ६६ रूपियाँ पर्छ । यसले खाना उपलब्ध गराउन समस्या भएको छ ।’–जनता माध्यमिक विद्यालयका निमित्त प्रधानाध्यापक जितेन्द्र महतले भन्नुभयो ।
त्यस्तै, अपाङ्गता भएका बालबालिका अध्ययनरत विद्यालयमा कक्षाकोठाको पनि अभाव भएको उनीहरूको आरोप छ ।
‘जनता माविमा अपाङ्गता भएका ९६ जना विद्यार्थी अध्ययनरत छन् । उनीहरूका लागि कक्षाकोठा र पानीको समस्या छ ।’–स्रोत–शिक्षिका उर्मिला महतले बताउनुभयो–‘विद्यार्थी राख्नैपर्छ, तर बजेट अभावमा भौतिक संरचना बन्न सकेको छैन ।’
जिल्लाकै भैरव माध्यामिक विद्यालयमा २८ जना र कर्णाली माध्यामिक विद्यालयमा ३६ जना विद्यार्थी रहेका छन् ।
भैरव माध्यामिक विद्यालयका शिक्षक दत्तबहादुर बुढाले पनि स्रोत–कक्षामा पानी नभएकाले समस्या भएको बताउनुभयो ।
‘पानी नहुँदा शौचालय सञ्चालनमा छैन । दृष्टिविहीन बालबालिकाले शौचका लागि जङ्गल जानुपर्ने अवस्था छ ।’–बुढाले भन्नुभयो ।