INSEC Online

📅 २०८३ जेष्ठ २१

कथित बोक्सीको आरोप लगाएको भन्दै प्रहरीमा दिएको उजुरी दर्ता नगरेको पीडितको आरोप

राजविराज नपा–६ की एकल महिला ४२ वर्षीया कविता मिश्रालाई छिमेकी ५८ वर्षीय रामकुमार यादव, उनका छोराहरू २७ वर्षीय रमेशकुमार यादव, २५ वर्षीय राजेशकुमार यादव, २३ वर्षीय उमेशकुमार यादव, रामकुमारका भाइ ५० वर्षीय रामअधिन यादव र पत्नी ४० वर्षीया पञ्चीदेवी यादवले कथित बोक्सी भन्दै घर कोठाभित्र प्रवेश गरी आफू र छोरीहरूलाई कुटपिट गरेको भनी दिएको उजुरी जिल्ला प्रहरी कार्यालय सप्तरीले एक सातासम्म पनि पनि दर्ता नगरेको पीडितले आरोप लगाएकी छिन् ।

भिडियो रेकर्ड, घाउजाँच प्रतिवेदन, जिल्ला सरकारी वकिल कार्यालयको पत्रसहित प्रत्यक्षदर्शी छिमेकीहरू लिएर जिल्ला प्रहरी कार्यालय गए पनि उजुरी दर्ता नगरेको पीडितले आरोप लगाएकी छन् ।

प्रहरीले पीडितको उजुरी दर्ता वा दरपिठ नगरेकाले जिल्ला सरकारी वकिल कार्यालय सप्तरीले कात्तिक २५ गते मुलुकी फौजदारी कार्यविधि (संहीता) २०७४ को दफा ५ (२) बमोजिम पीडितको उजुरी जिल्ला प्रहरी कार्यालय सप्तरी पठाएको सहायक जिल्ला न्यायाधिवक्ता सुदर्शन निरौलाले बताए ।

‘आफ्नो पति पनि खायो र मेरो पत्नी पनि खायो’ भन्दै आरोपित रामकुमारसहित उनका घरपरिवारका सदस्यहरूले कात्तिक ११ गते घरकोठा भित्र प्रवेश गरी आफू र छोरीहरूलाई कुटपिट गरेको तथा कात्तिक १३ गते ‘बोक्सी कता छ ?’ भन्दै घरभित्र प्रवेश गरेर रक्ताम्य हुने गरी कुटपिट गरेको पीडितले बताइन् ।

आरोपित रामकुमारले आफ्नो घरमा रोपिएको सिमी, घिरौँला, लौकाको विरुवाहरू उखेलेको विषयमा विवाद हुँदा दुवै तर्फबाट गालीगलौज र हातपात भएपनि कथित बोक्सी भनेर अमानवीय व्यवहार नगरेको बताए ।

पीडितले भने असोज १७ गते मृत्यु भएकी रामकुमारकी ५७ वर्षीया पत्नी फुलकुमारीलाई ‘बोक्सी’ लगाई हत्या गरेको भन्दै आरोपितहरूले गालीगलौज र कुटपिट गरेको आरोप लगाइन् ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी कृष्ण प्रसाइले बोटविरुवा उखेलिएको विषयमा दुवै तर्फबाट गालीगलौज, कुटपिट भएकाले दुवै पक्षबाट उजुरी आएको बताए । कथित बोक्सीको आरोपसहितको उजुरी सत्य नभएकाले दर्ता गर्न नसकिने एसपी प्रसाइले बताए ।

अन्य

भिडियो