INSEC Online

📅 २०८३ जेष्ठ २१

५ सय ५८ जना भूकम्प पीडितद्वारा पहिलो किस्ता बापतको रकम नपाएको गुनासो

भोजपुरका भूकम्प पीडितहरूमध्ये ५ सय ५८ जनाले पहिलो किस्ता बापतको रकम नपाएको गुनासो गरेका छन् ।

०७२ सालको भूकम्पमा ५ हजार ७ सय ४९ घर पूर्ण रूपमा क्षति भएका थिए । जसमध्ये  ५ सय ५८ जना भूकम्प पीडितले पहिलो किस्ता बापतको रकम नपाउँदा बसोवासमा समस्या भएको बताएका छन् ।

पहिलो किस्ता बापतको रमक नपाँउदा बसोबासमा समस्या भएको षडानन्द नगरपालिका–२ की ३५ वर्षीया राममाया राईले गुनासो गरिन् ।

०७६ माघ मसान्तसम्म घर बनाई सक्नुपर्ने भएपनि कात्तिक मसान्तसम्म पहिलो किस्ता बापतको रकम नपाँउदा समस्या भएको राईको गुनासो छ ।

पुनः निर्माण प्राधिकरणले समयमा रकम निकासा नगरिदिँदा परिवारको बिचल्ली भएको आरोप भूकम्प पीडितहरूको छ ।

‘घर भूकम्पले भत्काइदियो । बाबा विदेशमा हुनुहन्छ । बाबाको नाममा घर जग्गा छ । त्यसैले घर बनाउन सकिएन ।’–रामप्रसाद राई गाउँपालिका–१ का २६ वर्षीय जीवन राईले गुनासो गर्दै भने–‘कानुनी जटिलताका कारण व्यवहारिक ढङ्गले रकम निकासा नहुँदा घर बनाउन सकिएको छैन ।’

आफ्नो विवरण लाभग्राहीको सूचीमा भएपनि कार्यालयले अनेक बहानामा रकम नदिँदा समस्या भएको राईको गुनासो छ ।

कानुनी प्रक्रिया र कागताज विवरणका कारणले रकम निकासा रोकिँदा भूकम्प पीडिताई समस्या भएको छ ।

जसकारण ज्येष्ठ नागरिक तथा बालबालिकालाई धेरै समस्या भएको पीडितहरूको गुनासो छ । चिसो मौसममा त्रिपालको छानोमा बस्दा बालबच्चा बिरामी हुने अर्की भूकम्प पीडित मैनाकली बिकले गुनासो गरिन् ।

भोजपुरका भूकम्प पीडितहरू मध्ये १ हजार ३ सय २४ जनाले दोस्रो किस्ता बापतको रकम पाएका छैनन् ।

त्यसैगरी १ हजार ८ सय ६७ जनाले तेस्रो किस्ता बापतको रकम निकासा पाएका छैनन् । आधा घर बनाएर बाँकी रकम निकासा नहुँदा घर निमार्णमा समस्या भएको पीडितहरूको गुनासो छ ।

पनः निर्माण कार्यालयले भने प्रक्रिया पुगेर आएका सबैलाई रकम निकासा दिएको जनाएको छ । प्रक्रिया नपुगी आएका तथा मापदण्ड अनुसार नबनेका घरहरूको भने किस्ता रोकिएको पुन निर्माण प्राधिकरण भोजपुरका फोकल पर्सन हरिकृष्ण दाहालले बताए ।

नेपाल सरकारले लाभग्राहीको सूचीमा परेकाहरूलाई पहिलो किस्ता बापत ५० हजार रुपियाँ, दोस्रो किस्तामा १ लाख रुपियाँ र तेस्रो किस्तामा १ लाख ५० हजार रुपियाँ दिएको थियो ।

भोजपुरका कूल भूकम्प पीडितहरूमध्ये पहिलो किस्ता ५ हजार १ सय ९१ जनाले, दोस्रो किस्ता ३ हजार ८ सय ६७ जनाले र तेस्रो किस्ता ३ हजार ३ सय २४ जनाले पाएको पुनः निर्माण प्राधिकरण कार्यालय भोजपुरले जनाएको छ ।

अन्य

भिडियो