INSEC Online

📅 २०८३ जेष्ठ २१

छिन्नमस्ता गाउँपालिका–७ मा नौ जनाको मनोनयन

आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचन अन्तर्गत कात्तिक २७ गते छिन्नमस्ता गाउँपालिका–७ को वडा अध्यक्ष पदका लागि नौ जनाले मनोनयन दर्ता गरेका छन् ।

विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी नौ जनाले उम्मेदवारी दर्ता गरेको मुख्य निर्वाचन अधिकृत सप्तरी जिल्ला अदालतका जिल्ला न्यायाधीश चन्द्रमणी ज्ञवालीले जानकारी दिए ।

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट ५१ वर्षीय अच्छेलाल यादव, नेपाली कांग्रेसबाट ४४ वर्षीय शिवनारायण मण्डल, राजपा नेपालबाट ४० वर्षीया प्रमिलादेवी यादव, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ३२ वर्षीय गजेन्द्र मण्डल, नेपाल लोकतान्त्रिक पार्टीबाट ४८ वर्षीय सकलदेव साह र जनमत पार्टीबाट ३८ वर्षीय दिनेशकुमार यादवले उम्मेदवारी दर्ता गरेका हुन् ।

नौ जनामध्ये ५२ वर्षीय नुर हसन मन्सुरी, १९ वर्षीय रञ्जितकुमार यादव र ३० वर्षीय धिरेन्द्रकुमार यादवले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

मनोनयन दर्ता गर्न राजपाका उम्मेदवारसँगै आएका समाजवादी पार्टी सप्तरीका अध्यक्ष केदारप्रसाद यादवले राजपाको उम्मेदवारलाई सघाउने जनाएका छन् ।

यसअघि वडा अध्यक्षमा स्वतन्त्रबाट उम्मेदवार बनेका अच्छेलाललाई आठ मतको झिनो मतको अन्तरले राजपा नेपालका प्रभाकर यादव निर्वाचित भएका थिए ।

उनी जिल्ला समन्वय समिति सप्तरीको प्रमुखमा निर्वाचित भएपछि रिक्त रहेको सो पदका लागि उपनिर्वाचन हुन लागेको हो । आगामी उपनिर्वाचनमा अच्छेलाल नेकपाबाट उम्मेदवार बनेका छन् भने राजपाबाट प्रभाकरकी पत्नी प्रमिलादेवी उम्मेदवार बनेकी छिन् ।

निर्वाचन आयोगले स्थानीय तहका उम्मेदवारहरूको उम्मेदवारी मनोनयनका लागि बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मको समय तोकेको थियो ।

मङ्सिर १४ गते बिहान ७ बजेदेखि पाँच बजेसम्म हुने मतदानका लागि छिन्नमस्ता गाउँपालिका–७ मा ७ सय ५७ पुरुष र ६ सय ४६ महिला गरी १ हजार ४ सय ३ जना मतदाता रहेको मुख्य निर्वाचन अधिकृत कार्यालय सप्तरीले जानकारी दिएको छ ।

पहिलो स्थानीय तहको निर्वाचनमा सो वडामा १ हजार १ सय ७५ मतदाता रहेकोमा अहिले २ सय २८ मतदाता थपिएको हो ।

छिन्नमस्ता गाउँपालिका–७ हाटीस्थित राष्ट्रिय प्राथमिक विद्यालयमा ‘क’ र ‘ख’ गरी दुई ओटा मतदान केन्द्र कायम गरिएको र उक्त मतदानस्थल अति संवेदनशील क्षेत्र भएकाले विशेष सुरक्षा योजना बनाइएको सप्तरीका सिडिओ सुनिल खनालले बताए ।

कात्तिक ३० गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन, मङ्सिर १ गते निर्वाचन चिन्ह प्रदान गरिने लगायतका कार्यक्रम तालिका निर्वाचन कार्यालयले सार्वजनिक गरेको मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश चन्द्रमणी ज्ञवालीले जानकारी दिए ।

photo20191113saptarie (1)

photo20191113saptarie (2)

photo20191113saptarie (3)

photo20191113saptarie (4)

photo20191113saptarie (5)

अन्य

भिडियो