INSEC Online

📅 २०८३ जेष्ठ २१

निर्वाचन कार्यालयबाटै आचारसंहिता उल्लङ्घन

छिन्नमस्ता गाउँपालिका–६ को वडा अध्यक्ष पदका लागि हुने उपनिर्वाचनमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले नै निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको छ ।

आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचन अन्तर्गत स्थानीय तहतर्फ सप्तरीको एक मात्र पदका लागि कात्तिक २७ गते विद्यालय परिसरमा मनोनयन कार्यक्रम गरेर मुख्य निर्वाचन अधिकृतको कार्यालयले नै आचारसंहिता उल्लङ्घन गरेको स्थानीय झमेलीप्रसाद साहले बताए ।

निर्वाचन प्रकृयाहरू सुरू गर्न छिन्नमस्ता गाउँपालिका–३ स्थित भुपेन्द्रनारायण संस्कृत माध्यमिक विद्यालयमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेसँगै आचारसंहिता उल्लङ्घन भएको उनी बताउँछन् ।

निर्वाचन आयोगले स्थानीय तहका उम्मेदवारहरूको उम्मेदवारी मनोनयनका लागि बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मको समय तोकेको थियो ।

विद्यालयमा पढाइ सुरू हुनासाथ पालैपालो आएका उम्मेदवारहरूको टोलीको नाराजुलुशका कारण विद्यार्थीहरुको पठनपाठन अवरूद्ध भएको वडा नम्बर ३ का वडा सदस्य सदिक मियाँले बताए ।

शान्तिपूर्ण रूपमा मनोनयन होला भनेर विद्यालय बिदा नगरिएको बताएका प्रधानाध्यापक लालबहादुर मण्डलले उम्मेदवारहरुको नाराजुलुशले पठनपाठन पूर्ण रूपमा प्रभावित भएको बताए ।

कक्षा १० सम्म पठनपाठन हुने जिल्लाको एक मात्र संस्कृत बिद्यालयमा ६ सय १५ विद्यार्थी अध्ययनरत छन् ।

विभिन्न राजनीतिक दलका उम्मेदवारहरू नाराजुलुससहित विद्यालय परिसरमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेपछि उनीहरूको होहल्लाले गर्दा शिक्षकहरू पटक–पटक पढाउन बन्द गर्थे भने विद्यार्थीहरू जुलुश हेर्न कक्षाकोठा बाहिर बरण्डामा निस्कन्थे ।

यसैगरी निर्वाचनको सुरक्षाका लागि दिनभरी विद्यालय परिसरमा तैनाथ रहेका हतियारसहितका सशस्त्र प्रहरीहरूलाई देखेर रिूद्यार्थीहरूमा मानसिक असर परेको अभिभावकहरूले गुनासो गरेका छन् ।

उम्मेदवारी मनोनयन गर्न आएका राजनीतिक दलले ठूला आकारका झण्डा, व्यानरसहित मोटरसाइकल, ट्रयाक्टरसहितको र्‍याली निकालेर छिन्नमस्ता बजार परिक्रमा गरेका छन् । जुलुसमा सामेल ट्रयाक्टरमा रहेका बालबालिकाको हात–हातमा पार्टीको झण्डा थियो ।

photo20191113saptari (1)

photo20191113saptari (2)

photo20191113saptari (3)

photo20191113saptari (4)

photo20191113saptari (5)

photo20191113saptari (6)

photo20191113saptari (7)

अन्य

भिडियो