कुमाख गाउँपालिका–५ को रिक्त वडाध्यक्ष पदका लागि कात्तिक २७ गते मनोनयन दर्ता गरिएको छ । उक्त पदका लागि आगामी मङ्सिर १४ गते उपनिर्वाचन गर्ने कार्यक्रम छ ।
वडा अध्यक्ष पदका लागि राजनीतिक दलबाट नेपाल कम्युनिष्ट पार्टी, सल्यानका जिल्ला समिति सदस्य धर्मे बुढोथोकी ‘ज्वाला’, नेपाली कांग्रेसका तर्पmबाट खड्कबहादुर बोहरा, राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट गोपाल शाहले उम्मेदवारी दिएका छन् भने दलवीर बस्नेत र चित्रप्रकाश गिरीले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
जिल्लाको एक मात्र उपनिर्वाचन क्षेत्र रहेको कुमाख गाउँपालिकामा निर्वाचन सम्पन्न गर्न अप्ठेरो रहेको गाउँपालिकाले जनाएको छ ।
कुमाख गाउँपालिकाका अध्यक्ष दिलमाया बुढाले जिल्लामा एक मात्र उपनिर्वाचन क्षेत्र रहेकाले यस गाउँपालिकामा निर्वाचन सम्पन्न गर्न अप्ठेरो रहेको भन्दै मतदातालाई सास्ती हुने सम्भावना बढी रहेको बताइन् ।
कुमाख गाउँपालिकामा सुरक्षा संवेदनशिलताका हिसाबले निर्वाचन सम्पन्न गर्न भने चुनौती रहेको गाउँपालिकाकी अध्यक्ष दिलमाया बुढाले बताइन् ।
जिल्ला निर्वाचन अधिकारी कुलप्रसाद पाण्डेले उपनिर्वाचनमा निष्पक्ष, स्वतन्त्र र जबादेहीता महत्वपुर्ण हुने बताउँदै निर्वाचन सफल बनाउन सुरक्षा व्यवस्था मजबुत र दलहरूले आचारसंहिताको पालना गर्नुपर्ने बताए ।
आचारसंहिताको उल्लङ्घन भएको खण्डमा कार्यालयले तत्कालै कारवाहीका लागि कदम चाल्ने निर्वाचन अधिकारी पाण्डेले बताए ।
जिल्ला प्रशासन कार्यालय, सल्यानले पनि निर्वाचनलाई लक्षित गर्दै सुरक्षा व्यवस्था कडा पारेको जनाएको छ ।
सल्यानका प्रमुख जिल्ला अधिकारी चुडाराज न्यौपानेले उपनिर्वाचनका लागि जिल्ला सुरक्षा समितिले सुरक्षा व्यवस्था कडा पारेको जानकारी दिए ।
एकीकृत सुरक्षा योजना तयार गरिसकेको बताउँदै प्रमुख जिल्ला अधिकारी न्यौपानेले उपनिर्वाचनका लागि तोकिएको मतदान केन्द्र सुरक्षाका दृष्टिकोणले अति संवेदनशील रहेको बताए ।



