बलात्कारबाट गर्भवती बनेकी अछामकी १२ वर्षीया बालिकालाई गर्भपतनपछि डिस्चार्ज गरिएको छ । सुस्त मानसिक अवस्थाकी पीडित बालिका गर्भवती भएको पत्ता लागेपछि कात्तिक १६ गते प्रसूति अस्पताल थापाथलीमा भर्ना गरिएको थियो ।
अस्पतालले बालिकाको अवस्थालाई मध्यनजर गर्दै सुत्केरी व्यथा लगाएर गर्भपतन गरिएको र उनको अवस्था सामान्य रहेको अस्पतालका निर्देशक डा जागेश्वर गौतमले जानकारी दिए । डा. गौतमले बालिकाको परिवार र उनको अवस्थालाई मध्यनजर गर्दै गर्भपतन गर्ने निर्णय लिएको बताए ।
कानुनी रूपमा १२ हप्तासम्मको गर्भपतन गर्न सक्ने उल्लेख भएपनि हाडनाता करणी र जबर्जस्ती करणीको हकमा भने पीडितको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै २२ हप्तासम्मको गर्भपतन गर्न मिल्ने प्रावधान रहेको छ ।
पीडित बालिकालाई कात्तिक २४ गते नै महिला, बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापा मगरले अस्पतालमै भेटी आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएकी छिन् ।
मन्त्री थापाले लैङ्गिक हिंसामा परेका महिला तथा बालिकाहरूको सहयोगका लागि मन्त्रालयले कुनै कसुर बाँकी नराख्ने बताइन् ।
सो मन्त्रालयकी उपसचिव अञ्जु ढुङ्गानाले पीडित बालिकालाई केही समय आराम र मनो परामर्शको आवश्यकता देखिएकाले आशा नेपालको संरक्षणमा राखिने जानकारी दिइन् ।
अछामकी पीडित बालिकालाई बलात्कार गर्ने आरोपितका सम्बन्धमा पीडित र पीडितको परिवार समेत अनभिज्ञ रहेको छ ।