सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ को वडा अध्यक्ष पदका लागि मङ्सिर १४ गते हुने उपनिर्वाचनलाई निष्पक्ष, भयरहित र शान्तिपुर्ण रूपमा सम्पन्न गराउन विशेष सुरक्षा योजना बनाइएको छ ।
छिन्नमस्ता गाउँपालिका–७ हाटीस्थित राष्ट्रिय प्राथमिक विद्यालयमा ‘क’ र ‘ख’ गरी दुई ओटा मतदान केन्द्र कायम गरिएको मतदानस्थल अति संवेदनशील क्षेत्र भएकाले विशेष सुरक्षा योजना बनाइएको सिडिओ सुनिल खनालले बताए ।
दक्षिणवर्ती क्षेत्रमा रहेको मतदानस्थल सुरक्षाको दृष्टिले अति संवेदनशील भएपनि निष्पक्ष, भयरहित र शान्तिपुर्ण रूपमा उपनिर्वाचन सम्पन्न गराउन विशेष सुरक्षा योजना बनाइएको एसपी कृष्ण प्रसाईले बताए ।
एसपी प्रसाईका अनुसार एउटै मतदानस्थल भएपनि निर्वाचन सुरक्षा योजना अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको सुरक्षा घेरा हुने र सुरक्षाको तर्फबाट कुनै कसर बाँकी रहने छैन ।
निर्वाचन प्रकृयाहरू सुरू गर्न छिन्नमस्ता गाउँपालिकास्थित भुपेन्द्रनारायण संस्कृत माध्यमिक विद्यालयमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएसँगै चुनावी माहौल तातेको छ ।
कात्तिक २७ गते मनोनयन दर्ता, कात्तिक ३० गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन, मङ्सिर १ गते निर्वाचन चिन्ह प्रदान गरिनेलगायतका कार्यक्रम तालिका निर्वाचन कार्यालयले सार्वजनिक गरेको मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश चन्द्रमणी ज्ञवालीले जानकारी दिए । प्रभाकर यादव जिल्ला समन्वय समिति सप्तरीको प्रमुखमा निर्वाचित भएपछि सो पद रिक्त रहेको थियो ।
कार्यालय स्थापनासँगै उपनिर्वाचन र मतदाता शिक्षालगायतको काम तीव्र गतिमा अघि बढाइएको जिल्ला निर्वाचन अधिकारी दिलिपकुमार यादवले जानकारी दिए ।
यादवले मङ्सिर १ गतेदेखि मतपत्र र मतदान गर्ने तरिका, मत सदर र बदर हुने अवस्था र मतपत्र पट्याउने लगायतका तरिकाहरू सिकाउन मतदाता शिक्षा पनि सञ्चालन गरिने जानकारी दिए ।
मङ्सिर १४ गते बिहान सात बजेदेखि पाँच बजेसम्म हुने मतदानका लागि छिन्नमस्ता गाउँपालिका वडा नम्बर ७ मा ७ सय ५७ पुरुष र ६ सय ४६ महिला गरी १ हजार ४ सय ३ जना मतदाता छन् ।
पहिलो स्थानीय तहको निर्वाचनमा सो वडामा १ हजार १ सय ७५ मतदाता रहेकोमा अहिले २ सय २८ मतदाता थपिएका छन् ।