बहिर्गमित जनमुक्ति सेना नेपालमा आवद्ध माओवादीका पूर्व लडाकुहरूले मङ्सिर ६ गते पेरिसडाँडास्थित एकीकृत नेकपा माओवादी केन्द्रको पार्टी कार्यालयमा धर्ना दिएका छन् ।

सात बुँदे माग राखी कात्तिक २२ गतेदेखि काठमाडौँ केन्द्रीत आन्दोलन गर्दै आएका पूर्व लडाकुहरूले उठाएका माग सम्बोधनका लागि सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रको ध्यानाकर्षा गराउन धर्ना दिइएको जनमुक्ति सेना नेपालका अध्यक्ष लेनिन विष्टले बताए ।

उनले बारम्बार आफ्ना मागबारे राज्यको ध्यानाकर्षण गराउँदा पनि बेवास्ता गरेको आरोप लगाउँदै भने-‘सरकारले द्वन्द्व निम्त्याउन खाजेको छ ।’

अध्यक्ष विष्टले राष्ट्रिय तथा अन्तराष्ट्रिय कानुन बमोजिम युद्धमा बाल सैन्य प्रयोग गरी बालअधिकारको दुरूपयोग गर्ने दोषीलाई कानुनी दायरमा ल्याई पीडितलाई राष्ट्रिय सम्मानका साथ क्षतिपूर्ति तथा परिपूरणको व्यवस्था नगरेसम्म आन्दोलन जारी रहने बताए ।

माओवादी केन्द्र कार्यालय अगाडि धर्ना दिएर बसेका माओवादीका पूर्व लडाकुहरूलाई पार्टी कार्यालयभित्र प्रवेशमा रोक लगाउनका लागि सरकारले बाक्लो सङ्ख्यामा प्रहरी परिचालन गरेको थियो ।

धर्ना
कार्यक्रमको राष्ट्रिय मानव अधिकार आयोग र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले अनुगमन गरेको थियो ।
