INSEC Online

📅 २०८३ जेष्ठ २१

वर्षभरको ज्याला दुई पाथी अन्न !

छायाँनाथ रारा नपा–४ का ३० वर्षीय गगन भियाल सोही नगरपालिका १, ३ र ४ वडाका क्षेत्री र ठकुरी समुदायका ५० भन्दा बढी घरधुरीको कोदो, धान, जौ, गहुँ, सिमीलगायत अन्य अन्नबाली माड्ने, कुट्ने काठका औजार र अन्य छालाका सामाग्री बनाउने गर्छन् ।

ति काम गरेबापत् बाबु बाजेको पालादेखि दुई पाथी अन्न पाउने गरेका भियालको ज्याला अझै बढेको छैन ।   छायाँनाथ रारा नपा–४ रोकायाबाडामा १५ घरधुरी सार्की परिवारको बसोबास छ । यो समुदायको पुर्ख्यौली पेसा भनेकै क्षेत्री, ठकुरी र बाहुनलगायत कथित् उपल्लो जातका परिवारको अन्नबाली कुट्ने, माड्ने काठका औजार (जाललौरी) र छालाका सामग्री बनाउने हो ।

वर्षमा दुई पटक जौ, गहुँ कुट्ने महिना चैत र वैशाख तथा धान, कोदो, सिमीलगायत अन्य बाली कुट्ने समय असोज देखि कात्तिक महिनामा काम गरेबापत उनीहरू वर्षमा दुईपाथी अन्न ज्यालका रूपमा बुझ्छन् ।

पहिलेदेखि बाबु बाजेले गर्दै आएको यो पेसालाई चटक्कै छोड्न पनि नसक्ने र ज्यालाले परिवारको गर्जो पनि धान्न समस्या भएको रोकायाबाडाबासी बताउँछन् ।

बाबु बाजेहरूले कथित उपल्लो जातका परिवारको घरमा मरेका पशु चौपायालाई खाल्डोमा गाड्ने काम समेत गर्नुपर्ने भएपनि आजभोली भने यो काम गर्नु नपर्ने स्थानीय धनबहादुर भियाल बताउँछन् ।

वर्षमा दुई पटक काठको औजार र छालाको काम गरे बापत वैशाखमा प्रतिघर दुई पाथी जौ र कात्तिकमा दुई पाथी कोदो वा धान दिने गरेको भियालले बताए ।

‘हामी १५ घर सार्की समुदायसँग पर्याप्त खेति गर्ने जग्गा छैन । ज्याला मजदुरी गरेर गुजारा गरेका छौँ ।’–भियालले भने ।

चैत, वैशाख र असोज, कात्तिक गरी चार महिनामा छायाँनाथ रारा नपा–१ छत्तेलबाडा, सोही नगरपालिका–३ र ४ भामबाडा र चैना गाउँका ५ सय घरधुरीभन्दा बढी कथित माथिल्लो जातका परिवारको अन्न कुट्ने, काठको (जाललौरी) र छालाका सामग्री बनाउँदै दिन बित्ने गरेको र यो समयमा अन्य स्थानमा ज्याला मजदुरी गर्न समेत जान नपाइने ६८ वर्षीय बुधे भियालले बताए ।

यो वस्तीका युवा प्रायः काठका सामग्री र घर बनाउने काममा सिपालु छन् । काठको सामान र घर बनाएबापत दिनको ९ सय रुपियाँ देखि १ हजार २ सय रुपियाँसम्म ज्याला लिने गरेको उनीहरू बताउँछन् ।

त्यस्तै महिलाहरू भने गमगढी बजारका व्यापारीहरूको सामान बोकेर दिनको ५ सय रुपियाँदेखि १ हजार रुपियाँसम्म कमाउने गरेको बताउँछन् ।

तर, अन्न भित्र्याउने यि चार महिनामा भने समुदायका पुरूषहरूले अन्नबाली, काठका सामग्री बनाउन र महिलाहरूले कथित उपल्लो जातका मानिसका खेतमा काम गर्न जानुपर्ने बाध्यता रहेको बुधे भियालले बताए ।

अन्य

भिडियो