INSEC Online

📅 २०८३ जेष्ठ २१

बजेट अभावमा कैदीबन्दीको उपचारमा समस्या

झापा कारागारका कैदीबन्दीका लागि औषधि खरिद गर्न आवश्यक बजेट नहुँदा समस्या भएको छ । सरकारले विनियोजन गरेको बजेटले ६ महिना पनि नपुग्ने भन्दै बाँकी ६ महिनाको लागि अहिले नै औषधि उपचारका लागि सहयोग गरिदिने दाताको खोजीमा रहेको झापा कारागारका प्रमुख राजेन्द्र निरौलाले बताए ।

कारागार प्रमुख निरौलाले भने–‘अब तीन महिना जतिलाई मात्र औषधि खरिद गर्ने बजेट रहेको हुँदा मानवीय नाताले कारागारमा थप औषधि खरिदमा समस्या हुन नदिन सरकारी तथा गैरसरकारी र सामाजिक सङ्घसंस्थाहरूसँग सहयोगको अपील गरेको छु ।’

निरौलाले भने–‘साँघुरो बसाई, फोहोर मैलालगायतका कारण उनीहरू बिरामी नभएको दिन नै हुँदैन । बाँकी छ महिना उपचारका लागि सहयोग गरिदिने दाताको खोजीमा छौँ ।’

४ सय जनाको क्षमता रहेको कारागारमा हाल पुरुष १ हजार २८ र महिला ९२ जना गरी १ हजार १ सय २० जना कैदीबन्दी रहेका छन् ।

कारागारमा दम, मुटु र एचआइभीका बिरामी पनि छन् । यति धेरै कैदीबन्दी रहेको कारागारमा सरकारले औषधि उपचार खर्चका लागि चालु आर्थिक वर्षमा १३ लाख रुपियाँ बजेट विनियोजन गरेको प्रमुख निरौलाको भनाई छ ।

‘गत वर्ष सरकारले १८ लाख रुपियाँ बजेट विनियोजन गरेको थियो । तर, २० लाख रुपियाँ खर्च भएको थियो ।’–उनले भने ।

गत वर्ष कारागारमा कैदी र थुनुवा गरी १ हजार ७९ थिए । यो वर्ष कैदीबन्दीको सङ्ख्यामा वृद्धि भएको छ ।

कैदीबन्दीको उपचारका लागि एक वर्षमा मेची अञ्चल अस्पताललाई मात्रै २४ लाख रुपियाँ भुक्तानी गर्ने गरेको निरौलाले बताए । कतिपय अवस्थामा डाक्टरले सिफारिस गरेको औषधि समेत खरिद गर्न नसकेको निरौलाको भनाई छ ।

नेपालमा कारागार व्यवस्थापनमा पिएचडी गरेका जिल्ला न्यायाधीश श्रीप्रकाश उप्रेतीका अनुसार कारागार सुधार उच्चस्तरीय सुझाव समिति, २०६४ को सुझावको बुँदा नं.१३ मा कैदीबन्दीहरूको औषधि उपचारको लागि पर्याप्त बजेटको व्यवस्था गर्ने भनेको छ ।

सानो ठाउँमा खचाखच कैदीबन्दी बस्नुपर्ने बाध्यताले प्रायः दैनिक १० जना भन्दा बढी बिरामी हुने गरेको कारागार प्रशासनले जनाएको छ ।

अधिकांश कैदी बन्दीमा छाला र भाइरल ज्वरोको समस्या भएको बताउँदै कारागार प्रमुख निरौलाले भने–‘२ सयभन्दा बढीमा यो समस्या थियो । स्वास्थ्य कार्यालय झापा, भद्रपुर नगरपालिकाको औषधि सहयोग र ओमसाई पाथीभरा हस्पिटलको प्राविधिक सहयोगमा केही न्यूनीकरण भएको छ ।’

कारागारमा एक जना सिनियर अहेवको दरबन्दी रहेको छ । पाथीभरा हस्पिटलको विशेषज्ञ डाक्टरको टोलीले महिनामा एकपटक कारागारमा आएर निःशुल्क स्वास्थ्य जाँच गरेर सहयोग गरिरहेको कारागार प्रशासनले जनाएको छ ।

अन्य

भिडियो